

भदौ ११
डोल्पाः हिमाली जिल्ला डोल्पाको काइके गाउँपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको खोज, उद्धार तथा राहतका लागि एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
गाउँपालिकाका अध्यक्ष अंगद रानाले एक विज्ञप्ति जारी गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सो सहयोग उपलब्ध गराउने जनाएका हुन् ।
विपद्पछिको खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष रानाले बताए । बुधबार बिहान आएको भीषण बाढीका कारण भोटेकोशी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएकाले थप क्षति हुनबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सुरक्षित रहन पनि गाउँपालिकाले आग्रह गरेको छ।