

भदौ ११,
काठमाडौं: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि ७ हजार ४१५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा नेपाल प्रहरीका ३ हजार ३१८, नेपाली सेनाका २ हजार ३५५ र सशस्त्र प्रहरी बल नेपालका १ हजार ७४२ जना सुरक्षाकर्मी खटिएका छन् ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म २३९ वटा हेलिकोप्टर उडानमार्फत खोज तथा उद्धारको काम गरिएको छ । तीमध्ये नेपाली सेनाका हेलिकोप्टरबाट २११ र निजी क्षेत्रका हेलिकोप्टरबाट २८ वटा उडान भएका छन् ।
बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत व्यवस्थापनको काम पनि निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ ।
तिब्बततर्फबाट भोटेकोसी नदी हुँदै आएको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदीमा मिसिएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ । बाढीका कारण नदी तटीय क्षेत्रका विभिन्न स्थानमा जनधनको क्षति भएको प्राधिकरणले जनाएको छ ।
विपद्पछि खोज तथा उद्धारलाई तीव्र बनाउन रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गरिएको छ । घाइतेको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरिएको छ ।
बाढी प्रभावितका लागि नेपाली सेनाका ब्यारेकमा अस्थायी आवास, भोजन, खानेपानी र औषधिको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।