

भदौ ११
सुर्खेतः जल तथा मौसम विज्ञान विभागले भदौ ११ र १२ गते कर्णालीका पहाडी जिल्लाका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि कर्णाली प्रदेश सरकारले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रदेश सरकारले विशेषगरी दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिमका जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित बाढी, पहिरो तथा अन्य विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो । सम्भावित विपद्लाई मध्यनजर गर्दै सुरक्षा निकाय तथा सम्बन्धित सरकारी कार्यालयलाई पूर्वतयारी अवस्थामा रहनसमेत निर्देशन दिइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् व्यवस्थापन समन्वयात्मक बैठकले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धार्मिक तथा पर्यटकीय यात्रामा रहेका व्यक्तिलाई पनि मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । दैलेखको महाबु, बाजुराको बडिमालिका, मुगुको ऋणमोक्षधाम र जुम्लाको ठाकुरज्यूलगायत क्षेत्रमा तीर्थयात्रा तथा पदयात्रामा रहेका यात्रुले सडक र पैदलमार्गको अवस्था जानकारी लिएर आवश्यक सावधानी अपनाउनुपर्ने बैठकको निर्णय छ ।
कर्णालीमा पछिल्लो समय बाढी र पहिरोका घटना बढिरहेका बेला प्रदेश सरकारले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसूचना, पूर्वतयारी र प्रतिकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । कर्णाली प्रदेशका प्रमुख सचिव राधिका अर्यालले विपद्को जोखिम देखिएमा तत्काल परिचालन हुन सक्ने गरी सुरक्षा तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको बताइन् ।
यसैबीच, रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएकाप्रति बैठकले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत बैठकले गरेको छ ।
रसुवाको घटनाबाट कर्णाली प्रदेशका नागरिकसमेत प्रभावित भएको हुन सक्ने आशंकामा विभिन्न काम तथा तीर्थयात्राका क्रममा त्यहाँ रहेका नागरिकको विवरण संकलन गर्न र उनीहरूका परिवारसँग सम्पर्क स्थापित गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
बैठकमा जाजरकोटमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सम्बन्धित मन्त्रालय तथा सुरक्षा निकायबाट भइरहेका कामबारे समेत जानकारी लिइएको थियो ।
त्यस्तै, प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट संकलन हुने विपद्सम्बन्धी प्रमुख सूचकहरूको विवरण नियमित रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना बोर्डमा सार्वजनिक गर्ने व्यवस्था मिलाइने भएको छ ।
विपद्को जोखिम कायम रहेसम्म प्रदेशअन्तर्गतका कार्यालय प्रमुख तथा जिम्मेवार कर्मचारीलाई अति आवश्यक अवस्थाबाहेक बिदामा नबस्न निर्देशन दिइएको छ । अत्यावश्यक कारणले बिदा बस्नुपर्ने भएमा वैकल्पिक व्यवस्था सुनिश्चित गरेर मात्र बिदा लिनुपर्ने निर्णयसमेत बैठकले गरेको छ ।