जाजरकोट पहिरोः जोखिममा रहेका रिसाङका २०० जनालाई स्थानान्तरण

साझा कर्णाली | २०८३ भाद्र १ गते सोमवार

भदौ १,

जाजरकोटः पहिरोको जोखिम बढेपछि भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०-७० घरपरिवारका २०० स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण बस्ती जोखिममा परेपछि उनीहरूलाई रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको हो ।

जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिएकामध्ये रिसाङ फारुलाका १४९ जना, चिसापानीका २० जना, झ्यालीखेत डाँडाका १६ जना र राउटेरे डाँडाका १५ जना रहेका छन् ।

स्थानीयवासीको उद्धार, स्थानान्तरण र सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (प्रसनि) प्रेमबहादुर फौजाको कमान्डमा १० जना प्रहरी परिचालन गरिएको छ । प्रहरी टोलीले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नुका साथै आवश्यक सुरक्षा व्यवस्था मिलाइरहेको छ ।

अविरल वर्षा नरोकिएपछि रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीमा समेत निगरानी बढाइएको छ । जोखिमको अवस्था थप गम्भीर बनेमा अन्य स्थानीयवासीलाई समेत सुरक्षित स्थानमा सार्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।