बाला त्रिपुरा सुन्दरी मन्दिरमा भव्य महायज्ञ: धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

जैतुन अनलाइन | २०८३ साउन २९ गते शुक्रवार

श्रावण २९,

डोल्पा : डोल्पाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल बाला त्रिपुरा सुन्दरी भगवती मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ।भौतिक पूर्वाधार विकास, धार्मिक तथा सांस्कृतिक संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा रहेको शक्तिपीठ बाला त्रिपुरा सुन्दरी भगवती मन्दिरमा  आगामी भदौ १५ गतेदेखि २२ गतेसम्म सप्ताहव्यापी महायज्ञ सञ्चालन गर्न लागिएको हो।

बाला त्रिपुरा सुन्दरी भगवती मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुने महायज्ञमा विश्व शान्तिको कामना, धनधान्याचल, पितृमोक्ष तथा शालग्राम पूजार्चना लगायतका धार्मिक अनुष्ठान गरिने मन्दिर व्यवस्थापन समितिका सचिव टीकादत्त न्यौपानेले जानकारी दिएका छन । न्यौपानेका अनुसार महायज्ञमा नेपालका ख्यातिप्राप्त युवा पण्डित श्री ईश्वर रेग्मीबाट संगीतमय श्रीमद् भागवत कथा प्रवचन हुने तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा भजन–कीर्तन, धार्मिक झाँकी तथा नृत्य प्रस्तुत गरिने बताए ।

महायज्ञको पहिलो दिन भदौ १५ गते बिहान ११ बजे शान्ति कलश यात्रा निकालिनेछ भने सोही दिन दिउँसो औपचारिक उद्घाटन कार्यक्रम आयोजना गरिनेछ। भदौ १५ गतेको कलश यात्रामा भक्जनहरु सहभागि भएपछि पुजा आरधना गरेर कलश घरमा ल्याई सधैभर पुजा गर्न पाउनेछन कलश यात्रामा सहभागी भक्तजनले । कलश यात्रामा सहभागी हुन शुक्रवार देखी नै कलश बुकिङ् खुला गरिएको छ भने यस्को लागी आयोजकसँग समन्वय गर्न सकिने छ ।

बिहानदेखि रातिसम्म धार्मिक कार्यक्रम

भदौ १६ गतेदेखि २१ गतेसम्म दैनिक नित्य पूजापाठ, श्रीमद् भागवत पाठ पारायण, शालग्राम पूजन, संगीतमय कथा प्रवचन, भजन–कीर्तन, धार्मिक झाँकी, नृत्य तथा प्रसादी वितरणलगायतका कार्यक्रम सञ्चालन हुनेछन्। साँझ ७ बजेदेखि राति १० बजेसम्म रात्रीकालीन कथा प्रवचन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। महायज्ञको अन्तिम दिन भदौ २२ गते पूर्णाहुति तथा यज्ञ विसर्जन गरिने आयोजकले जनाएको छ।

धार्मिक सेवासहित विभिन्न अनुष्ठान

महायज्ञका अवसरमा श्रद्धालु भक्तजनका लागि तुलादान, भूमिदान, पितृका नाममा दान, व्रतबन्ध, चौरासी पूजा, ब्राह्मण भोजन, प्रसादी वितरण, विवाह, ग्रहशान्ति, सत्यनारायण पूजा तथा लक्ष्यवर्ती पूजा लगायतका धार्मिक सेवा उपलब्ध गराइनेछ।

दानदातालाई विशेष सम्मान

मन्दिरको विकासमा सहयोग गर्ने दानदातालाई सहयोग रकमअनुसार रसिद, प्रमाणपत्र, फ्रेम तथा शिलालेखमा नाम उल्लेख गरी सम्मान गरिने व्यवस्थापन समितिले जनाएको छ। २० हजार रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दानदातालाई विशेष सम्मानसहित पञ्चेबाजाको साथ यज्ञमण्डप परिक्रमा गराइनेछ।

५० हजार रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दानदातामध्येबाट सो दिनको सभानायक घोषणा गरी स्थानीय बजार परिक्रमा गराउने व्यवस्था गरिएको छ। त्यस्तै, १ लाख रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दानदाताको परिवारको नाम शिलालेखमा राखी विशेष सम्मान गरिने आयोजकले जनाएको छ।

महायज्ञ अवधिभर सुरक्षा व्यवस्था मजबुत बनाइने

महायज्ञमा देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन तथा दर्शनार्थीको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएकाले महायज्ञ सञ्चालन हुने अवधिभर सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने प्रतिबद्धता सुरक्षा निकायले जनाएको छ।

महायज्ञस्थल, धार्मिक कार्यक्रम तथा भक्तजनको आवतजावत हुने क्षेत्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरी शान्ति–सुरक्षा कायम गर्ने, भीड व्यवस्थापन गर्ने तथा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निगरानी बढाउने सुरक्षा निकायको तयारी रहेको बताइएको छ। महायज्ञलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आयोजक, स्थानीय प्रशासन तथा सुरक्षा निकायबीच आवश्यक समन्वय गरिने जनाइएको छ।

धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य

बाला त्रिपुरा सुन्दरी भगवती मन्दिर डोल्पाको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित छ। महायज्ञमार्फत मन्दिरको पूर्वाधार विकाससँगै यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप प्रचार–प्रसार गरी डोल्पाको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने आयोजकको लक्ष्य छ।

मन्दिर व्यवस्थापन समितिले महायज्ञमा सहभागी भई धार्मिक पुण्य आर्जन गर्नुका साथै मन्दिरको भौतिक पूर्वाधार निर्माण, संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउन श्रद्धालु भक्तजन, दानदाता, संघसंस्था तथा सर्वसाधारणलाई सहभागिता र सहयोगका लागि आग्रह गरेको छ। महायज्ञ सफल बनाउन जिल्लामा शुक्रवार सर्वदलिय सर्वपक्षिय बैठक समेत बसेर छलफल गरेको छ भने ३१ गते मन्दिरमै पुन बैठक बस्नेछ ।