

श्रावण २९,
सुर्खेतः अविरल वर्षापछि आएको बाढी र कटानले जाजरकोटको नलगाड नगरपालिका–१० रोलीमा दुई घर बगाएको छ भने थप दुई घर उच्च जोखिममा परेका छन् । बाढीले झोलुङ्गे पुलमा समेत क्षति पुर्याएपछि स्थानीयको आवागमन प्रभावित भएको छ । भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडकखण्डसमेत अवरुद्ध भएको छ ।
गए रातिदेखि लगातार परेको वर्षाका कारण नलगाड–१० स्थित तासुघाट खोलामा पानीको बहाव अत्यधिक बढेपछि सडक अवरुद्ध भएको हो। सडकको वैकल्पिक मार्गसमेत नभएकाले यात्रु तथा स्थानीयवासी समस्यामा परेका छन् ।
बाढीले रोलीस्थित झोलुङ्गे पुलको पश्चिमतर्फको भाग बगाएपछि पैदल आवागमनसमेत ठप्प भएको इलाका प्रहरी कार्यालय रग्दाले जनाएको छ ।
बाढीले स्थानीय पृर्थि बहादुर विकको दुईतले ढुंगा–माटोले बनेको र ढुंगाले छाएको घर पूर्ण रूपमा बगाएको छ । उक्त घरमा नौ जना परिवारका सदस्य बस्दै आएका थिए । घर बगेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, खैते विकको दुईतले ढुंगा–माटोले बनेको तथा ढुंगाले छाएको घर पनि बाढीको उच्च जोखिममा परेको छ। उक्त घरमा बस्दै आएका १० जनालाई सुरक्षित स्थानमा सारिएको छ।
नरबहादुर विकको तीनतले ढुंगा–माटोले बनेको तथा ढुंगाले छाएको घर र हस्त विकको दुईतले ढुंगा–माटोले बनेको टिनले छाएको घरसमेत बाढी तथा कटानको जोखिममा परेका छन्। नरबहादुरको परिवारका १० जना र हस्त विकको परिवारका आठ जनालाई पनि सुरक्षित स्थानमा सारिएको छ ।
बाढी तथा कटानबाट प्रभावित चार घरपरिवारका ३७ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । घटनामा हालसम्म मानवीय क्षति भने भएको छैन ।
घटनाको खबर प्राप्त भएपछि बिहान साढे ६ बजे इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा खटिएको चार सदस्यीय प्रहरी टोलीले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गर्नुका साथै स्थानीयलाई आवश्यक सहयोग गरिरहेको छ ।
बाढीका कारण सडक, पुल तथा घरमा क्षति पुगेपछि स्थानीय थप जोखिममा परेका छन् । लगातार वर्षा भइरहेकाले थप क्षतिको सम्भावना रहेकाले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्न तथा अवरुद्ध सडक तत्काल खुलाउन स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन् ।
प्रहरी तथा स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र जोखिमको अवस्था देखिए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।