
श्रावण २४,
डोल्पा : जिल्ला प्रशासन कार्यालय डोल्पाले बजार अनुगमन गरेको छ । शनिवार डोल्पाका दुनै बजार र त्रिपुराकोट बगर बजारमा बिभिन्न सरोकारवाला निकायले संयुक्त छड्के अनुगमन गरेको हो अनुगमनका क्रममा जिल्लामा हाल ग्याँसको अभाव नरहेको पाइएको छ र यदि कृतिम अभव सृजना गरेको पाईएमा कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
शनिवार गरिएको अनुगमनका क्रममा दुनै बजारमा ग्याँसको अभाव देखिए पनि त्रिपुराकोट बगर बजारमा पर्याप्त मात्रामा ग्याँस मौज्दात रहेको पाइएको अनुगमन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईले जानकारी दिए । सहायक प्रजिअ चौलागाईका अनुसार जिल्लाका विभिन्न बजारमा ग्याँस तथा पेट्रोलियम पदार्थको उपलब्धता र बिक्री वितरण अवस्थाबारे जानकारी लिन संयुक्त रूपमा अनुगमन गरिएको र हाल अवस्था सामान्य नै रहेको बताए ।

अनुगमनका क्रममा डोल्पा जिल्लामै हालसम्म ग्याँस तथा पेट्रोलियम पदार्थको कुनै पनि आधिकारिक बिक्रेता नरहेको पाइएको छ। पेट्रोल तथा डिजेललगायतका पेट्रोलियम पदार्थसमेत व्यवस्थित र कानुनी प्रक्रियाबिना बिक्री वितरण भइरहेको पाइएको भन्दै अनुगमन टोलीले व्यवसायलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ ।
अनुगमन टोलीले अब उप्रान्त प्रचलित कानुनबमोजिम व्यवसाय दर्ता गरी आवश्यक अनुमति तथा प्रक्रिया पूरा गरेर मात्रै ग्याँस, पेट्रोल र डिजेललगायतका पेट्रोलियम पदार्थको बिक्री वितरण गर्न व्यवसायीलाई सुझाव, सल्लाह तथा निर्देशन दिएको छ।

जिल्लामा पेट्रोलियम पदार्थको बिक्री वितरण अव्यवस्थित हुँदा उपभोक्ताको सुरक्षा, मूल्य निर्धारण तथा आपूर्तिको नियमिततामा समस्या आउन सक्ने भएकाले सम्बन्धित व्यवसायीलाई कानुनी प्रक्रिया पूरा गर्न अनुगमन टोलीले आग्रह गरेको छ।
अनुगमनबाट दुनै बजारमा ग्याँसको अभाव देखिए पनि त्रिपुराकोट बगर बजारमा पर्याप्त मौज्दात रहेकाले समग्र जिल्लामा तत्काल ग्याँसको अभाव नरहेको निष्कर्ष निकालिएको छ। स्थानीय बजारमा ग्याँस तथा पेट्रोलियम पदार्थको नियमित आपूर्ति र बिक्री वितरणलाई थप व्यवस्थित बनाउन सम्बन्धित निकायले अनुगमनलाई निरन्तरता दिने जनाएको छ।