
श्रावण २२,
डोल्पा : चीनसँग सीमा जोडिएको डोल्पाका मोरिम्ला र क्याटो नाका सञ्चालनमा ढिलाइ भएको भन्दै डोल्पाका सांसद धनबहादुर बुढाले सरकारको ध्यानाकर्षण गराएका छन्। माथिल्लो डोल्पाका नागरिकको दैनिक जीवन, व्यापार तथा आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएका सीमा नाका समयमै सञ्चालन गर्न सरकारले आवश्यक कूटनीतिक पहल नगरेको भन्दै सांसद बुढाले संसद्मा सरकारको ध्यानाकर्षण गराएका हुन्।
हरेक वर्ष श्रावणको मध्यदेखि भदौको मध्यसम्म करिब २० दिन मोरिम्ला र क्याटो नाकामा दुई देशबीच व्यापारिक मेला सञ्चालन हुँदै आएकोमा यस वर्ष भने सरकारले नाका सञ्चालनका लागि अहिलेसम्म आवश्यक पहल नगरेको सांसद बुढाको गुनासो छ। सांसद बुढाले सरकारले मोरिम्ला र क्याटो नाका चीनसँग व्यापारका लागि खुला गर्ने विषयमै कुनै ठोस पहल नगरेको भन्दै तत्काल कूटनीतिक माध्यमबाट चीन सरकारसँग आवश्यक समन्वय गर्न माग गरेका छन्।
माथिल्लो डोल्पाका छार्का ताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकाका एक हजारभन्दा बढी घरपरिवारको दैनिक जीवन यी नाकासँग प्रत्यक्ष जोडिएको छ। स्थानीय नागरिकले सीमा नाकाबाट दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा भौतिक संरचना निर्माणका सामग्री आयात गर्ने गरेका छन्।
त्यस्तै, माथिल्लो डोल्पामा उत्पादन हुने स्थानीय वस्तु तथा जडिबुटी चीनतर्फ लैजाने र आवश्यक सामग्रीसँग सटही व्यापार गर्ने परम्परा रहेकाले पनि मोरिम्ला र क्याटो नाका सञ्चालनलाई स्थानीय तहले महत्वपूर्ण विषयका रूपमा लिएका छन्।

सांसद बुढाले सरकारसमक्ष माथिल्लो डोल्पाको सीमा तथा व्यापारिक गतिविधिसँग सम्बन्धित तीन प्रमुख विषयमा ध्यानाकर्षण गराएका छन्।
१. व्यापारिक मेला सञ्चालनका लागि कूटनीतिक पहल
मोरिम्ला र क्याटो नाकामा नेपाल–चीनबीच हुँदै आएको वार्षिक व्यापारिक मेला सञ्चालन गर्न चीन सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने।
२. नाका नियमित सञ्चालन गर्नुपर्ने
माथिल्लो डोल्पाका मोरिम्ला र क्याटो नाका चीनसँगको व्यापारका लागि नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुपर्ने।
३. स्थायी भन्सार र सीमा सुरक्षा संरचना स्थापना गर्नुपर्ने
मोरिम्ला र क्याटो नाकामा स्थायी भन्सार कार्यालय स्थापना गर्नुका साथै तिन्जे र निजालामा सीमा सुरक्षा बीओपी तथा आवश्यक प्रशासनिक संरचना स्थापना गर्नुपर्ने। माथिल्लो डोल्पाका नागरिकको रोजगारी, व्यापार, खाद्यान्न आपूर्ति र दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सीमा नाका सञ्चालनमा सरकारले ढिलाइ गर्न नहुने भन्दै सांसद बुढाले तत्काल आवश्यक पहल र कूटनीतिक संवाद अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।