टिम अफ कर्णालीद्वारा विभिन्न पीडितलाई आर्थिक सहयोग

जैतुन अनलाइन | २०८३ साउन २० गते बुधवार

 साउन २०,

 काठमाडौ :  सामाजिक सेवामा सक्रिय ‘टिम अफ कर्णाली’ ले विभिन्न स्थानका बिरामी तथा पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–१ निवासी बोन क्यान्सर पीडित भुपेस बुढामगरको उपचारका लागि उनका बुवा धर्मराज बुढालाई पाटनस्थित क्यान्सर अस्पतालमै पुगेर टिम अफ कर्णालीका तर्फबाट १५ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको छ ।

त्यसैगरी, जाजरकोटको नलगाड नगरपालिका–१२ बस्नेत गाउँकी कलि कुमारी बस्नेतको उपचारका क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा निधन भएपछि उनका साहाराविहीन अपाङ्ग छोराको राहतका लागि पीडितका आफन्त प्रेम केसीमार्फत ११ हजार रुपैयाँ सहयोग गरिएको टिमले जनाएको छ । यता, डोल्पाकै मुड्केचुला गाउँपालिका–१ निवासी फोक्सोको क्यान्सरबाट पीडित डिल बहादुर बोहोरालाई काठमाडौँको कीर्तिपुरमा पुगेर १५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

त्यसैगरी, रुकुम पश्चिमको घेत्मा क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भई प्रदेश अस्पताल सुर्खेतमा उपचाररत भुमलाल बोहोराको उपचारका लागि टिम अफ कर्णालीका सल्लाहकार लिलराज रोकायाबाट ७ हजार १०५ रुपैयाँ र टिम अफ कर्णालीको तर्फबाट ७ हजार ११५ रुपैयाँ गरी जम्मा १४ हजार १२० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ । टिम अफ कर्णालीले आगामी दिनमा पनि अन्य पीडितलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ । साथै, थप क्यान्सर पीडित तथा दुर्घटनाग्रस्त घाइतेहरूका लागि समेत सहयोग जुटाइने जानकारी दिइएको छ । टिमले ‘आफू बचौं, अरुलाई बचाऔं’ भन्ने सन्देशका साथ सानो सहयोगले पनि ठूलो राहत पुग्ने भन्दै सबैलाई सहयोगका लागि आह्वान गरेको छ ।