

श्रावण १६,
सुर्खेत: साहित्यकार बसन्तीकुमारी शाहीका दुई नयाँ कृति ‘यादका थुँगाहरू’ र ‘आमा र आँसु’ शनिबार वीरेन्द्रनगरमा लोकार्पण गरिएको छ । फ्युचर नेपालद्वारा आयोजित कार्यक्रममा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले दुवै कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् ।

कर्णालीका महिला, समाज र जनजीवनका भोगाइलाई साहित्यिक भाषामा अभिव्यक्त गर्ने उद्देश्यले यी कृति लोकार्पण गरिएको हो ।हुम्ला घर भएकी शाही कर्णाली प्रदेश लोकसेवा आयोगकी कार्यवाहक अध्यक्षसमेत हुन् । प्रशासनिक जिम्मेवारीसँगै उनी लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय रहँदै आएकी छन् । यसअघि पनि उनका कविता तथा अन्य साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् । पछिल्ला दुई कृतिमार्फत उनले कर्णालीको सामाजिक यथार्थ, महिलाले भोग्दै आएका पीडा, विभेद, कुरीति, कुसंस्कार, विकृति–विसङ्गति र विकासप्रतिको आकांक्षालाई साहित्यिक शैलीमा अभिव्यक्त गरेकी छन् ।

‘यादका थुँगाहरू’ कविता सङ्ग्रहमा १४२ वटा कविता समावेश छन् भने ‘आमा र आँसु’ कथा सङ्ग्रहमा १४ वटा कथा संग्रहित छन् । दुवै कृतिमा कर्णालीको जीवन, सम्बन्ध, संघर्ष, मानवीय संवेदना र परिवर्तनको चाहनालाई केन्द्रमा राखिएको छ ।
कृतिकार बसन्तीकुमारी शाहीले आफ्ना सिर्जनाको आधार नै कर्णालीको जनजीवन भएको बताइन् । हुम्लाका महिलाले जीवनभर भोगेका दुःख, अभाव र संघर्ष आफूले पनि नजिकबाट अनुभूत गरेको उल्लेख गर्दै ती अनुभूतिलाई साहित्यमा रूपान्तरण गर्ने प्रयास गरेको उनले सुनाइन् । साहित्य केवल कल्पनाको विषय नभई समाजका वास्तविक भोगाइ र संवेदनाको अभिव्यक्ति भएको उनको भनाइ थियो । समाजमा देखिएका विभेद, अन्याय र परिवर्तनको चाहनालाई आफ्ना रचनामार्फत पाठकमाझ पुर्याउने उद्देश्यले लेखनलाई निरन्तरता दिएको उनले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीका कृतिले कर्णालीको वास्तविक जीवनलाई प्रभावकारी रूपमा चित्रण गरेको बताए । उनले यी कृति कर्णालीका मात्र नभई सुदूरपश्चिमका महिलाहरूले भोगेका साझा पीडा, संघर्ष र सामाजिक अवस्थाको प्रतिनिधित्व गर्ने दस्तावेजका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । स्थानीय परिवेश, मौलिक संस्कृति र जनजीवनलाई साहित्यमा उतार्ने यस्ता कृतिले नेपाली साहित्यलाई थप समृद्ध बनाउने उनको भनाइ थियो ।
साहित्यकार डा. नवराज केसीले शाहीको लेखन शैली सरल, सहज र जीवनसँग प्रत्यक्ष जोडिएको बताए । उनका रचनामा कृत्रिमता नभई भोगाइबाट जन्मिएको यथार्थ पाइने उल्लेख गर्दै उनले पाठकलाई आफ्नै जीवनसँग जोड्ने शक्ति शाहीका सिर्जनामा रहेको धारणा राखे । साहित्यले समाजको यथार्थलाई बोल्न सक्नुपर्छ भन्ने दृष्टिले शाहीका कृतिहरू सफल रहेको उनको भनाइ थियो ।
साहित्यकार महेशविक्रम शाहले साहित्यकार शाहीको साहित्यिक यात्रा क्रमशः परिपक्व बन्दै गएको टिप्पणी गरे । पछिल्ला दुई कृतिले उनको लेखनमा विषयवस्तुको गहिराइ, अनुभूतिको विस्तार र अभिव्यक्तिको परिपक्वता थपिएको देखाएको उनले बताए । निरन्तर लेखनले लेखकको पहिचान बलियो बनाउने भएकाले आगामी दिनमा अझ सशक्त सिर्जना आउने विश्वास पनि उनले व्यक्त गरे ।
पत्रकार ज्योति कटुवालले ‘आमा र आँसु’ कथा सङ्ग्रहमाथि समीक्षा गर्दै कथाहरूले ग्रामीण समाजका महिलाको मौन संघर्ष, पारिवारिक सम्बन्ध, सामाजिक अन्याय र मानवीय संवेदनालाई गहिराइका साथ चित्रण गरेको बताइन् । कथाका पात्र र घटनाले पाठकलाई आफ्नै समाजसँग जोड्ने सामर्थ्य राख्ने उल्लेख गर्दै उनले महिलाका आवाजलाई साहित्यमार्फत स्थापित गर्ने दृष्टिले यो कृति महत्वपूर्ण रहेको धारणा राखिन् ।
कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा महिला साहित्यकारको उपस्थिति अझै सीमित रहेको बताए । शाहीका पछिल्ला कृतिले त्यो अभावलाई केही हदसम्म पूरा गर्ने विश्वास व्यक्त गर्दै उनले कर्णालीको आफ्नै अनुभव, मौलिकता र सामाजिक यथार्थलाई साहित्यमा अभिव्यक्त गर्ने यस्ता प्रयासले समग्र नेपाली साहित्यलाई समृद्ध बनाउने बताए । कर्णालीका स्रष्टाहरूलाई निरन्तर लेखन र सिर्जनामा लागिरहन पनि उनले आग्रह गरे ।
फ्युचर नेपालका अध्यक्ष यज्ञ खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले साहित्यकार शाहीलाई बधाई दिँदै कर्णालीको माटो, समाज र संस्कृतिलाई केन्द्रमा राखेर सिर्जना गरिएका यस्ता कृतिले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।