अविश्वासको प्रस्ताव सामना नगरी कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजिनामा

जैतुन अनलाइन | २०८३ साउन ९ गते शनिवार

श्रावण ९,
सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । शनिबार अपरान्ह बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले पद त्यागको घोषणा गरेका हुन् ।

सत्ता साझेदार नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदै असार ३१ गते सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाएपछि कँडेल नेतृत्वको सरकार संकटमा परेको थियो। त्यसपछि असार ३२ गते नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितका १६ जना सांसदहरूले मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

शनिबार दिउँसो ३ बजे सोही अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचीसहित प्रदेशसभा बैठक आह्वान गरिएको थियो । तर, मतदान प्रक्रिया र अविश्वासको प्रस्ताव सामना गर्नुअघि नै मुख्यमन्त्री कँडेलले राजिनामा घोषणा गरे । संसदमा आफ्नो धारणा राख्दै कुर्सीभन्दा राजनीतिक सिद्धान्त र नैतिकता ठूलो भएको उनले उल्लेख गरे ।
कँडेलले आफ्नो कार्यकालमा थुप्रै सुधारका काम भएको पनि स्मरण गरे । उनले नयाँ बन्न लागेको सरकार कति टिक्छ वा टिक्दैन त्यो भन्न नसकिने बताए ।

‘म यहाँ आउँदै गर्दा एमालेका दुई वटा अध्यक्ष बसिरहेका छन्, टेलिफोन कुरा भएको थियो,’ उनले भने ।

कम्युनिष्ट दल मिल्ने सङ्केत गर्दै नयाँ बन्न लागेको सरकारको आयुबारे टिप्पणी गरे । प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने उनले बताए ।

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संसदीय दलका नेता कँडेल २०८० साल चैत २७ गते कर्णालीको चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए । सुरुमा तात्कालिक माओवादी केन्द्रको समर्थनमा सरकार गठन गरेका कँडेलले केन्द्रमा सत्ता समीकरण फेरिएपछि २०८१ साउनमा नेपाली कांग्रेसलाई पनि सरकारमा सहभागी गराएका थिए ।

तर, पूर्वसहमति अनुसार सत्ता हस्तान्तरण नगरेको र एमालेले सहकार्यमा धोका दिएको आरोप लगाउँदै कांग्रेसका चार मन्त्रीहरू- आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सामूहिक राजीनामा दिएका थिए ।

मन्त्रीहरूको राजीनामालगत्तै कांग्रेसले माओवादी केन्द्रसँग नयाँ सत्ता सहकार्यको सहमति गर्दै पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी अघि बढाएको छ । कँडेलको राजीनामासँगै कर्णालीमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ ।