

श्रावण ९,
सुर्खेतः सुर्खेतमा पछिल्लो एक वर्षमा ७ लाख ८८ हजार ४८ रुपैयाँ बराबरका अखाद्य तथा म्याद नाघेका खाद्यवस्तु जफत गरी नष्ट गरिएको छ । शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वार्षिक समिक्षा गर्दै यस्तो जानकारी दिएको हो । खाद्य गुणस्तर नियमनलाई कडाइ गर्दै कार्यालयले वर्षभर ६ सय ९८ स्थानमा बजार, होटल, रेष्टुरेन्ट, खाद्य उद्योग तथा अन्य संवेदनशील क्षेत्रको अनुगमन गरेको कार्यालय प्रमुख श्रीराम न्यौपानले जानकारी दिए ।
यसक्रममा ९ सय २४ वटा खाद्य नमुना परीक्षण गर्दा ३७ वटा नमुना गुणस्तर मापदण्ड विपरीत भेटिएको उनले जानकारी दिए । साथै २ सय ५० वटा तरकारी तथा फलफूलमा विषादी अवशेषको द्रुत परीक्षण (आरबीपीआर) समेत गरिएको छ ।
कार्यालय प्रमुख न्यौपानेका अनुसार नियमित अनुगमनका क्रममा म्याद नाघेका, न्यून गुणस्तरका तथा उपभोगका लागि अनुपयुक्त खाद्यवस्तु जफत गरी नष्ट गरिएको हो । खाद्य सुरक्षालाई प्रभावकारी बनाउन बजार अनुगमन, प्रयोगशाला परीक्षण र उपभोक्ता गुनासो सम्बोधनलाई प्राथमिकता दिइएको उनले बताए ।
कार्यालयका अनुसार वर्षभर ४ सय २१ पटक खाद्य बजार, १ सय ८० पटक होटल तथा रेष्टुरेन्ट, ८३ वटा खाद्य उद्योग, २६ वटा संवेदनशील खाद्य उद्योग, १४ वटा दाना बजार तथा ५३ वटा आकस्मिक खाद्य सुरक्षा अनुगमन गरिएको छ ।
प्रयोगशाला परीक्षणतर्फ ९ सय २४ खाद्य नमुना र ४ वटा दाना नमुना परीक्षण गरिएको छ । औपचारिक रुपमा संकलन गरिएका ६१ खाद्य नमुनामध्ये ४ वटा प्रतिकूल भेटिएका छन् भने खाद्य स्वच्छता निगरानीअन्तर्गत परीक्षण गरिएका ९३ नमुनामध्ये १ वटा मात्रै प्रतिकूल देखिएको कार्यालयले जनाएको छ ।
यस अवधिमा खाद्य उद्योगको नियमनसमेत प्रभावकारी बनाइएको छ । कार्यालयले १२ वटा नयाँ अनुज्ञापत्र जारी, २९ वटा नवीकरण तथा २८ वटा उद्योग सिफारिस गरी कुल ६९ वटा सेवा प्रदान गरेको प्रमुख न्यौपानेले जानकारी दिए ।

उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा प्रशोधित पिउने पानी, तयारी खाना, होटल तथा अन्य खाद्य व्यवसायमा समेत अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अखाद्य वस्तु भेटिएपछि सम्बन्धित व्यवसायलाई सुधारका लागि निर्देशन दिइएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।
कार्यालयका अनुसार आर्थिक वर्षभर प्रशोधित पिउने पानी र तयारी चाउचाउसँग सम्बन्धित चार वटा मुद्दा दायर भएका छन् । ती सबै मुद्दा हाल अनुसन्धानको क्रममा रहेको प्रमुख न्यौपानेले बताए ।
कार्यालयका अनुसार खाद्य स्वच्छता, सुरक्षित खाद्य उत्पादन, पोषण तथा उपभोक्ता सचेतनासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । साथै स्थानीय तह, खाद्य व्यवसायी र सरोकारवालासँग सहकार्य गर्दै खाद्य सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।
कार्यालय प्रमुख न्यौपानेले जनशक्ति अभावका कारण अपेक्षाअनुसार काम गर्न चुनौती रहेको बताए । उनका अनुसार कार्यालयमा स्वीकृत २१ दरबन्दीमध्ये १३ जना मात्रै कार्यरत छन् । खाद्य निरीक्षण अधिकारी, प्रयोगशालाका प्राविधिक तथा आवश्यक बजेट थप भए सेवा प्रवाह अझ प्रभावकारी हुने उनले बताए ।
खाद्य सुरक्षामा सबैको साझा जिम्मेवारी हुनुपर्नेमा जोड
कार्यक्रममा कार्यालय प्रमुख श्रीराम न्यौपानेले खाद्य स्वच्छता र सुरक्षाको जिम्मेवारी कुनै एक निकायको मात्र नभई उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृंखलासँग आबद्ध सबै पक्षको हुने बताए । उनले स्थानीय तहले खाद्य मेला तथा अन्य सार्वजनिक कार्यक्रममा खाद्य स्टल सञ्चालन गर्नुअघि आफूहरुसँग समन्वय गर्नुपर्नेमा जोड दिए । अनुदानमा वितरण गरिने उपकरण पनि फुड–ग्रेडका मात्र उपलब्ध गराउन र स्थानीय तहले सम्भव भए खाद्य निरीक्षकको व्यवस्था गरी बजार तथा होटल अनुगमनलाई नियमित बनाउनुपर्ने उनको सुझाव थियो ।
न्यौपानेले न्यून जनशक्तिका बाबजुद कार्यालयले वार्षिक लक्ष्यभन्दा बढी बजार अनुगमन र निरीक्षण गर्न सफल भएको उल्लेख गर्दै कारबाहीभन्दा पहिले व्यवसायीलाई सचेत गराएर सुधारको अवसर दिनुपर्ने धारणा व्यक्त गरे । होटल, रेष्टुरेन्ट तथा सडक किनाराका (स्ट्रिट फुड) खाद्य व्यवसायमा समेत खाद्य सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।
उनले पछिल्लो समय नसर्ने रोगको बढ्दो जोखिमसँग खाद्य स्वच्छताको सम्बन्ध रहेको उल्लेख गर्दै विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममै खाद्य स्वच्छतासम्बन्धी विषय समावेश गरी बाल्यकालदेखि नै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । ‘गोठदेखि ओठसम्म’ खाद्य शृंखलामा संलग्न उत्पादक, ढुवानीकर्ता, भण्डारणकर्ता, विक्रेता र उपभोक्ता सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागीले सडक किनाराका खाद्य व्यवसाय (स्ट्रिट फुड) मा पनि खाद्य सुरक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने, चीनबाट आयात हुने खाद्यवस्तुको प्रभावकारी निरीक्षणका लागि हुम्लाको हिल्सामा खाद्य निरीक्षण कार्यालय स्थापना गर्नुपर्ने माग गरेका थिए । खाद्य सुरक्षालाई प्रभावकारी बनाउन सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धतासमेत कार्यक्रममा व्यक्त गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सीमित जनशक्ति, फराकिलो कार्यक्षेत्र र बढ्दो कार्यचापका बीच पनि कार्यालयले प्रभावकारी रुपमा जिम्मेवारी निर्वाह गरेको भन्दै प्रशंसा गरे । उनले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने मिसावटयुक्त खाद्यवस्तु, कालोबजारी तथा गुणस्तरहीन खाद्य सामग्रीको बिक्री–वितरण नियन्त्रणका लागि बजार अनुगमनलाई अझ सशक्त, नियमित र परिणाममुखी बनाउन प्रशासनले कार्यालयसँग आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
कार्यक्रममा सहभागी सरोकारवालाले खाद्य अनुगमनलाई अझ प्रभावकारी, नियमित र जिल्लाका सबै स्थानीय तहसम्म विस्तार गर्न सुझाव दिए । बजारमा अझै म्याद नाघेका तथा गुणस्तरहीन खाद्यवस्तुको बिक्री–वितरण भइरहेको, दुर्गम क्षेत्रमा अनुगमन प्रभावकारी हुन नसकेको तथा उपभोक्ता सचेतनामूलक कार्यक्रम थप गर्नुपर्ने आवश्यकता उनीहरुले औंल्याए । खाद्य उद्योग, होटल तथा रेष्टुरेन्टको नियमित अनुगमन गरी कानुन उल्लंघन गर्ने व्यवसायीमाथि कडा कारबाही गर्नुपर्ने मागसमेत सहभागीले गरे । कार्यक्रममा उठेका सुझाव र गुनासोलाई आगामी कार्ययोजनामा समेटेर कार्यान्वयन गरिने कार्यालय प्रमुख न्यौपानेको भनाइ छ ।