मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावमा शनिबार छलफल हुने

जैतुन अनलाइन | २०८३ साउन ७ गते बिहिवार

श्रावण ०७,

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावउपर पर्सी (शनिबार) छलफल हुने भएको छ । आज (बिहीबार) दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएपनि उक्त वैठक सरेपछि शनीबार छलफ हुने भएको हो ।

बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुख नन्दा गुरुङले सूचना टाँस गरेर शनिबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेकी हुन् । यद्यपि, कार्यव्यवस्था समितिले अविश्वास प्रस्तावलाई संसदमा लैजाने निर्णय भने गरको छैन ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार बैठकमा सभामुख गुरुङले विशेष कारण आजलाई बैठक बस्न नसक्ने र चाँडै बैठकको मिति तोक्ने प्रतिबद्धता जनाएअनुरुप आगामी बैठक तय गरिएको हो ।

गत ३१ असारमा कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएका थिए। त्यसको भोलिपल्ट ३२ असारमा कांग्रेस र नेकपाले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावमा नेकपाका ११ र कांग्रेसका पाँच प्रदेशसभा सदस्यको हस्ताक्षर रहेको छ।

यसअघि बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। प्रदेशमा एमालेसँग सहकार्य नगर्ने कांग्रेसको निर्णयपछि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

मुख्यमन्त्रीका लागि नेकपाले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई अघि सारेको छ। कांग्रेससँगको गठबन्धन अन्त्य भएपछि नेकपा र एमालेबीच सहकार्यको चर्चा भए पनि त्यसबारे औपचारिक सहमति वा स्पष्ट खाका सार्वजनिक भएको छैन।

उता एमालेले भने केन्द्रमा नेकपासँग गठबन्धनका विषयमा छलफल जारी रहेकाले हालसम्म प्रदेश सरकारबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेस र नेकपाका १४–१४, एमालेका १० तथा राप्रपा र एक स्वतन्त्र सांसद छन्।