पत्रकार विराट अनुपमद्वारा सुर्खेत कारागारलाई आठ दर्जन पुस्तक सहयोग

जैतुन अनलाइन | २०८३ साउन ७ गते बिहिवार


श्रावण ०७,

सुर्खेतः कारागारमा रहेका कैदीबन्दीमा अध्ययन संस्कृतिको विकास गर्दै सकारात्मक सोचतर्फ प्रेरित गर्ने उद्देश्यले कर्णालीमा सञ्चालन भइरहेको ‘कारागारलाई किताब’ अभियानका लागि पत्रकार तथा लेखक विराट अनुपमले आठ दर्जन पुस्तक सहयोग गरेका छन् ।

अनुपमले साहित्य, कथा, कविता, जेलजीवन, राजनीतिक विचार, सिद्धान्त, व्यावसायिक सीप, उत्प्रेरणा तथा सकारात्मक सोचसम्बन्धी पुस्तक अभियानलाई उपलब्ध गराएका हुन् । अभियानका संयोजक तथा प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रमुख डिआईजी जयराज सापकोटाले पुस्तकले कैदीबन्दीको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

‘पुस्तकले उनीहरूलाई जीवनप्रति प्रेरित गर्नेछ। नकारात्मक सोचको रोकथाम अब किताबले गर्नेछ,’ उनले भने, ‘कारागारबाट बाहिरिएपछि फेरि अपराधतर्फ नफर्किने चेतना विकास गर्न पनि पुस्तकले ठूलो भूमिका खेल्छ ।’
अभियानका उपसंयोजक तथा पत्रकार ज्योति कटुवालका अनुसार विभिन्न व्यक्ति, लेखक तथा संघसंस्थाको सहयोगमा पुस्तक संकलन गरी कैदीबन्दीलाई अध्ययनको अवसर प्रदान गरिँदै आएको छ । उनका अनुसार २०७५ चैत २३ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहको संयोजकत्वमा सुरु भएको अभियानअन्तर्गत हालसम्म कर्णाली प्रदेशका १० जिल्लाका १४ वटा हिरासतमा ४० हजारभन्दा बढी पुस्तक हस्तान्तरण भइसकेका छन् ।

‘पुस्तक ज्ञान, चेतना र आत्मपरिवर्तनको माध्यम हो। कारागारमा रहेका व्यक्तिहरूले अध्ययनमार्फत नयाँ सोच र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सकून् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो,’ कटुवालले भनिन् ।

कर्णाली कारागारका जेलर लक्ष्मी खरेलले पुस्तक अभियान सुरु भएपछि कैदीबन्दीको व्यवहारमा सकारात्मक परिवर्तन देखिएको बताइन् । उनका अनुसार कारागारभित्र हुने दैनिक झैझगडा समेत पहिलेको तुलनामा कम हुँदै गएको छ ।
कर्णाली कारागारमा सञ्चालित यस अभियानअन्तर्गत विभिन्न विधाका पुस्तक संकलन गरी पुस्तकालयलाई थप समृद्ध बनाउने कार्य निरन्तर जारी छ ।