दुनै बजारको मुहार फेरिने : सडक, ढल र पूर्वाधार विकासको बहुप्रतीक्षित योजना सुरु

जैतुन अनलाइन | २०८३ असार ३२ गते बिहिवार

असार ३२,

दुनै डोल्पा :  डोल्पाको सदरमुकाम दुनै बजारलाई व्यवस्थित, सुरक्षित र आधुनिक बजारका रूपमा विकास गर्ने उद्देश्यले बहुप्रतीक्षित ‘दुनै सदरमुकाम भौतिक पूर्वाधार विकास’ योजना औपचारिक रूपमा सुरु भएको छ। कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढा ले योजनाको शिलान्यास गर्दै विकास निर्माणलाई समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

वर्षौंदेखि धुलाम्मे सडक, वर्षायाममा हिलो, अव्यवस्थित ढल निकास र साँघुरा सडकका कारण सास्ती खेप्दै आएका दुनैवासीका लागि यो योजना आशाको किरण बनेको छ। योजना सम्पन्न भएपछि सदरमुकामको स्वरूप मात्रै परिवर्तन हुने होइन, दैनिक जनजीवन, व्यापार, पर्यटन र सेवा प्रवाहसमेत थप व्यवस्थित हुने अपेक्षा गरिएको मन्त्री शेर बहादुर बुढाले बताए। उनले भने सरकारमा भएका बेला मन्त्रीले बजेट हालेर मात्रै हुदैन कार्यान्वयन गर्ने निकायले पूर्ण रुपमा गरे बिकास गर्न धेरै समय लाग्दैन ।

भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले कार्यान्वयन गर्ने यस योजनाको लागत अनुमान १५ करोड ९८ लाख ९५ हजार ९ सय २ रुपैयाँ रहेको छ। निर्माण कार्यका लागि बागमती/खड्का/ओम जेभी, गोकर्णेश्वर, काठमाडौंसँग ७ करोड ५८ लाख २६ हजार ८ सय ८२ रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ। २०८३ जेठ २० गते भएको सम्झौताअनुसार आयोजना २०८६ असार २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय डोल्पामा कार्यालय  प्रमुख टेक हितानले जानकारी दिए । कार्यालय प्रमुख हितानले भने राजतिनिक दल,स्थानीय सरकार र स्थानीयले निर्माण कार्यमा सहजता बनाइ दिए काम छिटो र छरितो हुनेमा बिश्वस्त रहेको बताए ।

दुनै बजारमा के-के हुँदैछ?

योजनाअन्तर्गत दुनै बेलिब्रिजदेखि जिल्ला अस्पताल हुँदै हेलिप्याडसम्म सडक स्तरोन्नति, काठेपुलदेखि सशस्त्र प्रहरी क्याम्पसम्म सडक सुधार, काठेपुल–रंगशाला–जिल्ला अस्पताल सडक स्तरोन्नति, कालिका मन्दिरदेखि टोप्ला खोलासम्म मुख्य बजार सडक स्तरोन्नतिसँगै आधुनिक ढल निकास निर्माण, तथा भेरी करिडोरसँग जोडिएका शाखा सडकहरू फराकिला र स्तरोन्नति गर्ने काम गरिनेछ।

कार्यालय प्रमुख इन्जिनियर टेक हितानका अनुसार योजनाको मुख्य उद्देश्य दुनैलाई व्यवस्थित, सुरक्षित र पूर्वाधार सम्पन्न सदरमुकामका रूपमा विकास गर्नु हो। उनका अनुसार सडक विस्तारसँगै ढल व्यवस्थापन, पैदल यात्रुका लागि सहज आवागमन र बजार क्षेत्रको सौन्दर्यकरणलाई समेत प्राथमिकतामा राखिएको पूर्वाधार विकास कार्यालय डोल्पाको दावी रहेको छ।

पर्यटन र व्यापारमा सकारात्मक प्रभाव

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा माथिल्लो डोल्पा जाने प्रमुख प्रवेशद्वारका रूपमा रहेको दुनै बजारमा पूर्वाधार सुधार भएपछि पर्यटकलाई सहज आवागमन हुनेछ। व्यवस्थित सडक र सफा बजारले पर्यटन व्यवसायलाई थप टेवा पुग्ने, होटल, पसल, यातायात तथा स्थानीय व्यापारमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि लामो समयदेखि अपेक्षा गरिएको योजना कार्यान्वयनमा आएकोमा खुशी व्यक्त गर्दै निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्ने बताएका छन्। सदरमुकाममा हुने आयोजनाहरु सवैको निगारानी र सहयोगमा भएमा प्रभाबकारी हुने र निर्माणका क्रममा आउने समस्याहरु समाधानमा सवै एक हुने राजनितिक दलका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता समेत जनाएका छन ।

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। समयमै योजना सम्पन्न भए दुनै बजार आधुनिक, व्यवस्थित, स्वच्छ र पर्यटकमैत्री सदरमुकामका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। सरकारले कामका आधारमा भुक्तानी दिन्छ भन्दै मन्त्री बुढाले भने निर्माण व्यावसायीले ढुक्क भएर काम गर्न समेत आग्रह गरे।