
असार ३२,
डोल्पा : काइके गाउँपालिकाको दुर्गम क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण गुम्वातारा–कोलाताचिन–सहतारा–दुपाद्वारा सडक (३४.२८ किलोमिटर) निर्माण आयोजनाको ठेक्काको काम सुभारम्भ भएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले एक कार्यक्रमका बिच उक्त आयोजनाकाे शिलान्यास गरेका छन । यस आयोजना सम्पन्न भएपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै पर्यटन, व्यापार र समग्र आर्थिक गतिविधिमा नयाँ गति आउने अपेक्षा गरिएको छ।
आयोजनाको लागत अनुमान रु. १५ करोड ९९ लाख ४४ हजार ८२० रुपैयाँ ५१ पैसा (VAT तथा PS सहित) रहेको छ भने रु. ५ करोड ८१ लाख १० हजार ७३१ रुपैयाँ मा निर्माण सम्झौता भएको छ। निर्माण कार्यको जिम्मेवारी किरण/OM कार्यावर जे.भी., काइके, डोल्पा ले पाएको छ। २०८३/०२/२० मा सम्झौता भएको उक्त आयोजना २०८६ साल असोज २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार बिकास कार्यालय डोल्पाका कार्यालय प्रमुख टेक हितानले जानकारी दिए । 
सडक निर्माण सम्पन्न भएपछि वर्षौंदेखि कठिन पदयात्रामा निर्भर स्थानीय नागरिकले सहज यातायात सुविधा पाउनेछन्। स्वास्थ्य सेवा, शिक्षा, कृषि उत्पादनको बजार पहुँच र सरकारी सेवामा पहुँच अझ सरल हुने काईके गाउँपालिकाका अध्यक्ष अंगद कुमार रानाले बताए । उनले भने केहि प्राबिधिक कारण सदरमुकामवाट सड्क नजोडीए पनि पालिका भित्र सड्क तथा पूर्वाधारका बिकासका कामहरु उल्लेख्य रुपमा भएको दावी रानाले गरे।
प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण डोल्पाको पर्यटन प्रवर्द्धनमा पनि यस सडकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले बताए। मन्त्री बुढाले भने सडक पहुँच विस्तारसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने, स्थानीय होटल, होमस्टे, कृषि तथा साना व्यवसायहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीका अनुसार यो सडक केवल यातायातको माध्यम मात्र नभई डोल्पाको समृद्धि, पर्यटन विकास, रोजगारी सिर्जना र आर्थिक रूपान्तरणको आधार बन्नेछ। समयमै गुणस्तरीय निर्माण सम्पन्न भएमा यसले दुर्गम क्षेत्रका नागरिकको जीवनस्तर उकास्न र विकासका अवसरहरूलाई गाउँ–गाउँसम्म पुर्याउन महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।