
असार २२,
डाेल्पा : डाेल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको नेतृत्वमा जगदुल्ला गैरीगाउँ बाढीपीडितहरुका लागि नगद रकम सहित ३ लाख बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ ढकाल सहितकाे जिल्ला विपद कमान्ड पाेष्ट टाेली आइतबार घटना स्थलमा पुगेर अनुगमन संगै राहत सामाग्री हस्तान्तरण गरेकाे हाे ।

गैरीगाउँ बाढीपीडितका लागि आइतबार जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिंह राेकायालाई ३ लाख बराबरको राहत सामाग्री सहित नगद रु ४२ हजार ५ सय १५ रुपैयाँ हस्तान्तरण गरेकाे डाेल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिएकी छिन। बाढी पिडितहरुलाई थप राहत संकलन तथा सुरक्षित ठाउँमा स्थानान्तरणकाे लागि समन्वय भैरहेको प्रजिअ ढकालले बताएकी छिन। बर्खाकाे समयमा कुनैपनि समयमा बिपद आउन सक्ने भन्दै सबैलाई सचेत रहन उनले आग्रह गरेकी छिन। यहीँ असार २० गते राति करिब १ बजेतिर जगदुल्ला गाउँपालिका ५ र ६ मा पर्ने गैरीगाउँ स्थित धुलाेखाेलामा लेदाे सहितको बाढीपहिरो आउदा एक जनाकाे ज्यान गएकाे थियाे भने ६ जना घाइते भएका थिए। घाइते मध्य एक जना ४४ बर्षीय रेउली बि.क.लाई आइतबार नेपाली सेनाकाे हेलिकप्टरबाट थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

विभिन्न निकायका उपस्थितिमा आइतबार बिहाना देखि घाइतेको उद्वार गरि बाढीले पुरिएका सामाग्री निकाल्ने काम भैरहेकाे छ। आइतबार नै जगदुल्ला गाउँपालिकाले मृतका परिवार सहित पुर्णरुपमा क्षति भएका र सामान्य क्षेति भएका परिवारलाई राहत वितरण गरेकाे थियाे। जगदुल्लाकाे गैरीगाउँ धुलाेखाेला बाढीपहिरोमा परि १ जनाकाे मृत्यु र ६ जना घाइते भएका थिए । उक्त बाढी पहिराेले ४ घरमा पूर्णरूपमा क्षति बनाएकाे छ भने ११ घर आंशिक र २० घरमा सामान्य क्षति बनाएको र परेकाे जिल्ला प्रशासन कार्यालय डाेल्पाले जनाएको छ। जिल्ला विपद व्यवस्थापन समितिले विपदमा छिटो छरितो उद्वार तथा राहत कार्यकाे लागि जिल्ला विपद कमान्ड पाेष्ट तयार गरेकाे हाे।