
डोल्पा :कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न क्षेत्रीय फुटबल प्रतियोगितामा डोल्पाका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरे पनि आवश्यक सहयोग र लगानीको अभावले अन्ततः निराश हुनुपरेको छ।
हुम्लासँगको अत्यन्त प्रतिस्पर्धात्मक सेमिफाइनल खेल पेनाल्टी सुटआउटमा गुमाउँदै डोल्पाको यात्रा टुंगिएको थियो।
प्रतियोगिताभर अनुशासित, संघर्षशील र उत्कृष्ट प्रदर्शन गरेका डोल्पाका खेलाडीहरूले आफ्नो हार खेल क्षमताका कारण नभई खेल क्षेत्रमा राज्यको उदासीनताका कारण भएको गुनासो गरेका छन्। उनीहरूका अनुसार नियमित अभ्यास, स्तरीय प्रशिक्षण, खेल सामग्री र आर्थिक सहयोगको अभावका बीच पनि जिल्लाको प्रतिष्ठाका लागि मैदानमा शतप्रतिशत दिएका थिए।
खेलाडीहरूले जिल्ला खेलकुद विकास समिति, स्थानीय तह तथा अन्य सरोकारवाला निकायले खेलकुद क्षेत्रलाई आवश्यक प्राथमिकता नदिएको आरोप लगाएका छन्। उनीहरू भन्छन्, “प्रतिभा छ, जोश छ, तर लगानी छैन। खेलाडीको मनोबल बढाउने कुनै योजना छैन।”

डोल्पाजस्तो दुर्गम जिल्लामा खेलकुद पूर्वाधारको अभाव, व्यवस्थित प्रशिक्षण केन्द्र नहुनु, नियमित प्रतियोगिता सञ्चालन नहुनु र खेल सामग्रीको कमीले प्रतिभावान खेलाडीहरू पलायन हुने अवस्था बढ्दै गएको खेलाडीहरूको भनाइ छ। प्रदेशस्तरसम्म उत्कृष्ट प्रदर्शन गर्दा पनि उचित सम्मान र प्रोत्साहन नपाउँदा खेलप्रति निराशा बढेको उनीहरूको गुनासो छ।
खेलाडीहरूले सम्बन्धित निकायसँग जिल्लामा खेलमैदान निर्माण, नियमित प्रशिक्षण, प्रशिक्षक व्यवस्थापन, खेल सामग्री उपलब्ध गराउने तथा युवा प्रतिभालाई प्रोत्साहन गर्ने कार्यक्रम तत्काल सञ्चालन गर्न माग गरेका छन्।
डोल्पाका खेलाडीहरूको भनाइ छ, “हामीले मैदानमा क्षमता देखाइसकेका छौं। अब आवश्यक छ— राज्यको साथ, लगानी र विश्वास। उचित अवसर पाए डोल्पाले राष्ट्रियस्तरमै उत्कृष्ट नतिजा दिन सक्छ।”डोल्पा फुटबल टोलीका खेलाडी नवीन बुढाका अनुसार, जिल्लामा प्रतिभावान खेलाडीको कमी नभए पनि उनीहरूलाई साथ दिने र प्रोत्साहन गर्ने वातावरणको अभाव छ। “हामीलाई सहयोगी बन्ने कोही छैन। सधैं डोल्पा कमजोर टोली हो भन्ने भाष्य मात्रै बनाइयो,” उनले भने, “तर अहिले डोल्पा फुटबलमा कमजोर छैन भन्ने कुरा हामीले मैदानमै प्रमाणित गरेका छौं।”

बुढाले नियमित रूपमा जिल्लास्तर र प्रदेशस्तरका प्रतियोगिता आयोजना गर्न सके अझै धेरै प्रतिभावान खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे। उनका अनुसार खेलाडीलाई निरन्तर अवसर, प्रशिक्षण र आवश्यक लगानी उपलब्ध गराउन सके डोल्पाले भविष्यमा राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने टोली तयार पार्न सक्छ।
सुर्खेतमा सम्पन्न क्षेत्रीय प्रतियोगितामा हुम्लासँग पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले पराजित भए पनि डोल्पाका खेलाडीहरूको मनोबल उच्च रहेको बुढाले बताए। उनले भने, “हारले हामीलाई निराश बनाएको छैन, बरु अझ राम्रो तयारीका साथ फर्किने प्रेरणा दिएको छ। यदि सम्बन्धित निकायले खेल क्षेत्रमा लगानी र सहयोग बढाउने हो भने डोल्पाको फुटबलले अझ ठूलो उचाइ छुनेछ।”

६ सदस्यीय डोल्पा फुटबल टोलीले न्यूनतम स्रोत–साधनका बीच प्रतियोगितामा सहभागिता जनाएको थियो। खेलका लागि आवश्यक जर्सीसम्म खरिद गर्न नसक्ने अवस्था भएपछि दुनै भ्याली क्लबले टोलीलाई जर्सी उपलब्ध गराएको थियो। आर्थिक अभावका बीच मैदान उत्रिएका डोल्पाका खेलाडीहरूले भने आफ्नो संघर्ष, अनुशासन र उत्कृष्ट खेल प्रदर्शनबाट सबैको ध्यान खिच्न सफल भए।
खेलाडीहरूको भनाइमा, आर्थिक अभावले खेल्ने इच्छाशक्ति रोक्न सकेन, तर सम्बन्धित निकायको बेवास्ताले भने खेलाडीको मनोबलमा असर पारिरहेको छ। उनीहरूले सीमित स्रोत–साधनका बाबजुद प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्दै डोल्पामा प्रतिभावान खेलाडीहरूको कमी नभएको प्रमाणित गरेका छन्। अब आवश्यक रहेको कुरा भनेको खेलाडीको क्षमता अनुसारको लगानी, नियमित प्रशिक्षण, प्रतियोगिता र राज्यको साथ रहेको उनीहरूको माग छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको फुटवल खेलका लागी सामाजिक बिकास कार्यालय डोल्पामा ८० हजार बराबरको मात्रै लगानी गरेको खेलाडीले बताए ।