पहाड चिर्दै विकासको लहर : सडक, पुल र पूर्वाधार निर्माणले फेरिँदै डोल्पाको विकास

जैतुन अनलाइन | २०८३ असार २० गते शनिवार

डोल्पामा पूर्वाधार विकासले लियो नयाँ गति : एक वर्षमै ४५ सडक, ७ झोलुङ्गे पुलसहित दर्जनौँ आयोजना सम्पन्न

असार २०,

डोल्पा :  डोल्पामा पछिल्ला वर्षहरूमा पूर्वाधार विकासले उल्लेखनीय गति लिएको छ। वर्षौंदेखि सडक, पुल र आधारभूत संरचनाको अभाव झेल्दै आएको जिल्लामा अहिले विकास निर्माणका काम तीव्र रूपमा अघि बढिरहेका छन्। कर्णाली प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, डोल्पाले कार्यान्वयन गरिरहेका सडक, पुल तथा अन्य पूर्वाधार आयोजनाहरूले जिल्लाको आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा नयाँ आशा जगाएका छन्।

आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर ७ वटा झोलुङ्गे पुल, २ वटा कल्भर्ट, १ वटा बेलिब्रिज तथा ४५ वटा सडक आयोजना निर्माण सम्पन्न भएका छन्। निर्माण सम्पन्न भएका यी पूर्वाधारहरूले दुर्गम बस्तीलाई यातायात सञ्जालसँग जोड्नुका साथै शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, व्यापार व्यवसाय तथा विपद्का समयमा उद्धार कार्यलाई समेत सहज बनाउने विश्वास गरिएको छ।

नेपालकै सबैभन्दा ठूलो भूगोल भएको डोल्पामा विकास निर्माण गर्नु आफैँमा चुनौतीपूर्ण कार्य हो। कठिन हिमाली भूगोल, सीमित यातायात पहुँच, प्रतिकूल मौसम, निर्माण सामग्री ढुवानीको उच्च लागत तथा जनशक्तिको अभावका बाबजुद पनि कार्यालयले प्रभावकारी रूपमा जनशक्ति परिचालन गरी योजनाहरूलाई गुणस्तरीय ढंगले सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय डोल्पाका कार्यालय प्रमुख टेक हितानले बताए।

निर्माणको गुणस्तरमा कुनै सम्झौता नगरी प्राविधिक मापदण्डअनुसार योजनाहरू कार्यान्वयन गरिएको छ। “विगतका आर्थिक वर्षहरूको तुलनामा यस वर्ष विकास निर्माणले उल्लेखनीय गति लिएको छ। अधिकांश योजनाहरू समयमै सम्पन्न भएका छन् भने केही बहुवर्षीय आयोजना अन्तिम चरणमा पुगेका छन्,” हितानले भने।

प्रमुख हितानका अनुसार आगामी आर्थिक वर्षमा पनि डोल्पाको सडक सञ्जाल विस्तार, पुल निर्माण तथा अन्य पूर्वाधार विकासलाई अझ प्रभावकारी र दिगो बनाउने गरी योजना अघि बढाइनेछ। विशेष गरी माथिल्लो डोल्पादेखि तल्लो क्षेत्र जगदुल्लासम्म सडक पहुँच विस्तार तथा पुल निर्माणलाई प्राथमिकता दिइएको उनले बताए। उनले डोल्पाको भौगोलिक विकटतालाई मध्यनजर गर्दै सडक सञ्जाल विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरे। सडक सञ्जाल विस्तार भएसँगै कृषि उत्पादनले बजार पाउने, पर्यटन प्रवर्द्धन हुने, स्वास्थ्य तथा शिक्षाको पहुँच बढ्ने र स्थानीय अर्थतन्त्र चलायमान हुने उनको विश्वास छ।

कार्यालयका अनुसार केही सीमित आयोजना बाहेक अधिकांश निर्माण व्यवसायीले जिम्मेवारीपूर्वक काम गरेका कारण योजनाहरू कार्यान्वयनमा अपेक्षाकृत सहज भएको छ। निर्माण व्यवसायी, स्थानीय तह, उपभोक्ता समिति तथा स्थानीय समुदायबीचको समन्वयले पनि विकास निर्माणका काममा सकारात्मक प्रभाव परेको कार्यालयको भनाइ छ।

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयबाट विनियोजित बजेटमार्फत यस आर्थिक वर्ष पनि डोल्पामा आधा दर्जनभन्दा बढी बहुवर्षीय आयोजना कार्यान्वयन भइरहेका छन्। ती आयोजनामध्ये अधिकांशको भौतिक प्रगति सन्तोषजनक रहेको र आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

पछिल्ला वर्षहरूमा सडक, पुल, बेलिब्रिज, कल्भर्ट तथा अन्य आधारभूत संरचनाको विस्तारसँगै डोल्पामा विकासको नयाँ लहर सुरु भएको स्थानीयवासीको भनाइ छ। वर्षौंदेखि विकासको पहुँचबाट टाढा रहेका बस्तीहरू अहिले सडकसँग जोडिन थालेका छन्। यसले नागरिकको दैनिकी सहज बनाउनुका साथै सरकारी सेवा प्रवाहलाई समेत प्रभावकारी बनाएको छ।

जनजीवनमा प्रत्यक्ष सहजता

सडक, झोलुङ्गे पुल र बेलीब्रिज निर्माणपछि स्थानीय नागरिकको दैनिक जीवनमा उल्लेखनीय परिवर्तन आएको छ। वर्षौंदेखि घण्टौँ वा दिनौँ पैदल हिँड्नुपर्ने बाध्यता धेरै ठाउँमा कम भएको छ। बिरामीलाई अस्पताल पुर्‍याउन, विद्यार्थीलाई विद्यालय जान, किसानले कृषि उपज बजारसम्म लैजान तथा दैनिक उपभोग्य सामग्री गाउँमा पुर्‍याउन सहज भएको स्थानीयवासी बताउँछन्।

खोलानाला तर्न ज्यान जोखिममा पार्नुपर्ने अवस्था झोलुङ्गे पुल निर्माणसँगै अन्त्य हुँदै गएको छ। वर्षायाममा यातायात अवरुद्ध हुने समस्या बेलीब्रिज र कल्भर्टले घटाएको छ भने सडक विस्तारले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई समेत प्रभावकारी बनाएको छ।

पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना

पूर्वाधार विस्तारसँगै डोल्पाको पर्यटन क्षेत्रले पनि नयाँ गति लिने अपेक्षा गरिएको छ। विश्वप्रसिद्ध आन्तिर पर्यटकको रोजाइमा परेको फोक्सुण्डो ताल, माथिल्लो डोल्पा, त्रिपुरासुन्दरी, क्रिष्टल माउन्टेन तथा अन्य धार्मिक र प्राकृतिक पर्यटकीय गन्तव्य पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सडक र पुल निर्माणले थप सहजता प्रदान गर्ने विश्वास गरिएको छ।

पहिले लामो पैदल यात्रा, जोखिमपूर्ण बाटो र यातायातको अभावका कारण धेरै पर्यटकले कठिनाइ भोग्दै आएका थिए। अहिले पहुँचमार्ग विस्तारसँगै यात्रा सुरक्षित, सहज र छोटो बन्दै गएको छ। यसले पर्यटकको बसाइ अवधि बढ्नुका साथै होटल, होमस्टे, यातायात, स्थानीय हस्तकला तथा कृषि उत्पादनको बजार विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

विशेषगरी शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा फोक्सुण्डो ताल भ्रमणमा आउने पर्यटकको संख्या आगामी वर्षहरूमा वृद्धि हुने विश्वास स्थानीय पर्यटन व्यवसायीहरूको छ। पूर्वाधार सुधारसँगै डोल्पाको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्न सकिने उनीहरूको भनाइ छ।

डोल्पा प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला भएकाले पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धनमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। सडक र पुल निर्माणले शे–फोक्सुण्डो, माथिल्लो डोल्पा, त्रिपुरासुन्दरी, जगदुल्ला लगायतका पर्यटकीय क्षेत्रसम्म पुग्न सहज हुने विश्वास गरिएको छ।

विकासले आर्थिक गतिविधिमा पनि टेवा

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयबाट विनियोजित बजेटमार्फत यस आर्थिक वर्ष पनि डोल्पामा आधा दर्जनभन्दा बढी बहुवर्षीय आयोजना कार्यान्वयन भइरहेका छन्। सडक सञ्जाल विस्तारसँगै कृषि उत्पादनले बजार पाउने, निर्माण सामग्री ढुवानी लागत घट्ने, रोजगारीका अवसर सिर्जना हुने तथा स्थानीय अर्थतन्त्र चलायमान बन्ने अपेक्षा गरिएको छ।

वर्षौंदेखि विकासबाट पछि परेको डोल्पामा अहिले सडक, पुल र अन्य पूर्वाधार विस्तारले विकासको नयाँ अध्याय सुरु भएको स्थानीयवासीको बुझाइ छ। विकासका यी आयोजनाले डोल्पाको आर्थिक, सामाजिक तथा पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

पूर्वाधार विकास कार्यालयले आगामी दिनमा गुणस्तरीय, दिगो र जनमुखी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै विकासका बाँकी कामलाई पनि तीव्रता दिने जनाएको छ। जिल्लामा विकासको गति बढ्दै जाँदा डोल्पाको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासले नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।