त्रिपुरासुन्दरीको फुलचिङ्गमा एक घर एक स्वच्छ धारा संचालन

जैतुन अनलाइन | २०८३ असार १९ गते शुक्रवार

असार १८,

डाेल्पा : डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ६ मा पर्ने फुल्चिङ्ग गाउँमा खानेपानीको एक घर एक धारा उद्घाटन गरिएको छ। बिहीबार त्रिपुरासुन्दरी नगरपालिका र फिनल्यान्ड सरकारकाे साझेदारीमा खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना(सुस्वा) अन्तरगत फुल्चिङ्ग खानेपानी तथा सरसफाइ याेजना उपभोक्ता समिति द्वारा निर्माण गरिएको सुरक्षित खानेपानीका धारा त्रिपुरासुन्दरी नगरपालिका डाेल्पाका उपप्रमुख देवि घर्तीले अनुगमन संगै उद्घाटन गरेकी हुन।

उपप्रमुख घर्ती संगै वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र चलाउने, वडा नं. ३ का वडा अध्यक्ष भक्त बहादुर के.सी, वडा नं. ७ का वडा अध्यक्ष खम बुढा  वडा नं. ८ का वडा अध्यक्ष चन्द्ररुप रावत, वास सल्लाहकार बिष्णुप्रसाद बाेहरा लगाएतका प्रतिनिधिहरुले फुल्चिङ्ग खानेपानी तथा सरसफाइ याेजनाकाे सार्वजनिक परिक्षण तथा अनुगमन गरि धारा उद्घाटन गरेका हुन। व्यक्तिगत तथा सार्वजनिक  स्थानमा निर्माण गरिएका खानेपानीका धाराहरु बालमैत्रिक संरचना निर्माण गरिएको छ।

समुदायको प्रत्येक घरघरमा सुरक्षित खानेपानी पुर्याउने उदेश्यले फुल्चिङ्ग गाउँमा ७९ वटा घरपरिवारमा खानेपानीको धारा निर्माण गरिएको छ। यस्तै फुल्चिङ्ग गाउँकाे विभिन्न सार्वजनिक स्थानमा ३ वटा सार्वजनिक धारा र एउटा सामुदायिक विधालयमा गरि जम्मा ८३ वटा बालमैत्रीक खानेपानीका धारा निर्माण गरिएको छ।
फुल्चिङ्ग खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आयाेजना गरेकाे सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाले उठाएका जिज्ञासाबारे सम्बन्धित जिम्मेवार व्यक्तिहरुले संम्बाेधन गरेका थिए ।

फुलचिङ्ग खानेपानी तथा सरसफाइ याेजना फुल्चिङ्गले निर्माण गरेकाे खानेपानीकाे रिजर्भ ट्याङ्कीमा पानी सुदृढीकरण गर्नकाे लागि इनलाईन क्लाेरिनेशन जडान  गरिएकाे खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना त्रिपुरासुन्दरी नगरपालिका वास संयाेजक धनप्रसाद बुढाले बताएका छन। मुहानबाट रिजर्भ ट्याङ्कीमा पानी खसाल्दा इनलाईन क्लाेरिनेशन जडान गरेकाे हुदा सिधै धाराबाट खान मिल्ने भएकाेले सिधै पानी खादा कुनै असर नगर्ने संयाेजक बुढाले बताए । परियाेजनाले खानेपानीका संरचना निर्माण गरि समुदायलाई हस्तान्तरण गरेकाे हुदा अब संरक्षण गर्ने जिम्मेवारी समुदायको रहेकाे पनि उनले बताए।
दीर्घकालीन तथा सुन्दर संरचना निर्माण गर्नकाे लागि विभिन्न क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष खटिने सबै पक्षलाई खानेपानी सरसफाइ तथा स्वच्छता परियाेजना वास सल्लाह बिष्णु प्रसाद बाेहराले धन्यवाद व्यक्त गरेका छन। सबैकाे घरघरमा सुद्व पिउन मिल्ने पानी पुगेकाे हुदा यसलाई संरक्षण गरि दीर्घकालीनरुपमा प्रयाेग गर्न वास सल्लाहकार बाेहराले स्थानीयलाई आग्रह गरेका छन।

फुल्चिङ्ग गाउँका बासिन्दाले सुरक्षित सफा पानी खान पाउन भन्ने उदेश्यका साथ नगरपालिकाले याेजना समावेश गरेकाे त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयाेजक भक्त बहादुर केसीले बताए। यति राम्रो खानेपानीकाे याेजना सम्पन्न भएकाे छ। यसलाई दुरुपयोग नगरी संरक्षण गर्न वडा अध्यक्ष केसीले स्थानीयलाई आग्रह गरेका छन।

फुल्चिङ्ग खानेपानी तथा सरसफाइ याेजना छनाैट तथा कार्यान्वयन गर्न र याेजनालाई सफलता पुर्वक सम्पन्न गर्न लागि पर्ने सबैलाई त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्र चलाउनेले धन्यवाद व्यक्त गरेका छन। आफ्नाे वडा भित्रका नागरिकलाई स्वच्छ खानेपानी, स्वास्थ्य सेवा, शिक्षा लगाएतका बिषयमा सकेजति निकायमा पहल गरिरहेकाे र आगामी दिनमा पनि प्रयास गरि राख्ने वडा अध्यक्ष चलाउनेले बताए। हाल मैले याेयाे काम गरेकाे छु भन्नू भन्दा पनि आगामी दिनमा मैले गरेका सबै कामकाे बारेमा पक्कै पनि सम्झिने गरि काम गरेकाे उनले दाबी गरे।

फुल्चिङ्ग गाउँको स्थानीय बासिन्दाकाे घरघरमा स्वच्छ  खानेपानीका धारा पुगेकाेमा बधाई दिदै यसलाई संरक्षणमा जाेड दिन स्थानीयलाई  त्रिपुरासुन्दरी नगरपालिकाका उपप्रमुख देवी घर्तीले आग्रह गरेकी छिन। त्रिपुरासुन्दरी नगरपालिका र वडाका बस्तीहरु ठुला भएका हुदा सबै बस्तीलाई मिलाएर बजेटले भ्याए सम्मका काम हुने हुदा बिस्तारै सबै ठाउँमा स्थानीय सरकारले विभिन्न सरकार तथा निकाय संघ समन्वय गरि अधुराे काम सम्पन्न गर्ने पनि उपप्रमुख घर्तीले बताइन् । फुल्चिङ्गमा नमुना खानेपानी याेजना सम्पन्न भएकाे हुदा यहाँका नागरिक भाग्यमानी रहेकाे पनि उनले खुसी व्यक्त गरिन। जुनसुकै निकायले दिएकाे याेजना नागरिकले आफ्नै लागि दिएकाे हाे भनेर सम्झिए मात्र हरेक याेजना सफल र दीर्घकालीन हुने उपप्रमुख घर्तीले बताइन।

फुल्चिङ्ग गाउँका स्थानीय बासिन्दाहरुले खानेपानी याेजना छनाैट तथा संचालन गर्न पहल गर्ने सम्पूर्ण व्यक्ति तथा सराेकारवाला निकाय सबैलाई धन्यवाद व्यक्त गरेका छन। याे याेजना खरिद र निर्माण गरि  करिब १ कराेड  ८ लाख बराबरको लागतमा निर्माण गरिएको हाे।