छार्काताङ्सोङ् गाउँपालिकाले ल्यायो २७ करोड बढि बजेट

जैतुन अनलाइन | २०८३ असार १० गते बुधवार

असार १०,

कागकोट डोल्पा : छार्काताङ्सोङ्गा उँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २७ करोड ९९ लाख बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाले कुल बजेटको चालु तर्फ १२ करोड ८० लाख २८ हजार र पुजीगत तर्फ १४ करोड २० लाख ६२ हजार गरी २७ लाख ९९ हजारको बजेट पेश गरी गाउँ कार्यपालिकाले पास गरेको हो ।

१८औँ गाउँसभावाट पेश भएको बजेट तथा कार्यक्रमले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारमैत्री कार्यक्रममार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको अध्यक्ष सेनाङ् गुरुङले बताए। विकासको दृष्टिले पछाडि परेका वडाहरूमा सन्तुलित विकास सुनिश्चित गर्न जनसंख्या, क्षेत्रफल, विकासको अवस्था, आन्तरिक आय, पूर्वाधारको लागत तथा आवश्यकताको प्राथमिकीकरणका आधारमा स्रोत बाँडफाँडको व्यवस्था गरिएको उनले उल्लेख गरे।

गाउँपालिकाभित्र रहेका प्रशस्त पर्यटकीय गन्तव्यहरूको पहिचान, संरक्षण तथा प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने नीति बजेटमा समावेश गरिएको छ। पर्यटन विकासलाई गाउँपालिकाको आन्तरिक आय अभिवृद्धिको प्रमुख आधारका रूपमा लिइएको छ।
भौगोलिक विकटता र परनिर्भरतालाई गाउँपालिकाको प्रमुख चुनौतीका रूपमा औँल्याउँदै बजेटमा एकीकृत बस्ती निर्माण तथा “एक गाउँ–एक उत्पादन” कार्यक्रमलाई प्राथमिकता दिइएको छ। साथै कृषि तथा पशुपालन क्षेत्रका ठूला परियोजना सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरिने जनाइएको छ। गाउँपालिकाले प्रस्तुत गरेको बजेटले पूर्वाधार, पर्यटन, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य तथा रोजगार सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।