कर्णालीमा असुरक्षित गर्भपतनको चुनौती कायमै

जैतुन अनलाइन | २०८३ असार ८ गते सोमवार

असार ०९,

सुर्खेतः कर्णालीमा प्रत्येक एक लाख जीवित जन्ममा १७१ आमाले ज्यान गुमाइरहेका छन् । ती मृत्युमध्ये पाँच प्रतिशत मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको तथ्य फेला परेको छ । सुरक्षित गर्भपतनलाई कानुनी मान्यता प्राप्त भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि जानकारीको अभाव, सामाजिक कलंक र सेवामा सीमित पहुँचका कारण महिलाहरू अझै जोखिमपूर्ण गर्भपतनको चक्रबाट मुक्त हुन सकेका छैनन् ।

स्वास्थ्य लाइभ मिडियाको आयोजनामा शनिबार वीरेन्द्रनगरमा सम्पन्न ‘सुरक्षित गर्भपतन तथा कानुन कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्यांक, अध्ययन तथा सरोकारवालाहरूका भनाइले कर्णालीमा सुरक्षित गर्भपतनसम्बन्धी कानुनी व्यवस्था र वास्तविक कार्यान्वयनबीच अझै ठूलो दूरी रहेको देखाएको छ ।

कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशकी नर्सिङ अधिकृत मानकुमारी गुरुङले प्रस्तुत गरेको तथ्यांकअनुसार विश्वभर हुने कुल गर्भधारणमध्ये करिब ५० प्रतिशत अनिच्छित हुने गरेका छन् । तीमध्ये ६० प्रतिशत गर्भपतनमा परिणत हुने र करिब ४५ प्रतिशत गर्भपतन असुरक्षित तरिकाले हुने गरेको छ । दक्षिण तथा मध्य एसियामा असुरक्षित गर्भपतन अझै मातृ स्वास्थ्यका लागि प्रमुख चुनौतीका रूपमा रहेको उनले बताइन् ।

नेपालमा प्रति एक लाख जीवित जन्ममा मातृ मृत्युदर १ सय १ रहेको छ भने कर्णालीमा यो दर १ सय ७१ रहेको तथ्यांक प्रस्तुत गर्दै गुरुङले मातृ मृत्युमध्ये करिब पाँच प्रतिशत मृत्यु असुरक्षित गर्भपतनका कारण हुने गरेको जानकारी दिइन् । उनका अनुसार सुरक्षित गर्भपतन सेवा विस्तार भए पनि पहुँच, जनचेतना र सामाजिक स्वीकृतिको अभावले समस्या जटिल बनाइरहेको छ ।

कर्णाली प्रदेशमा हाल ४२८ वटा बर्थिङ सेन्टर, २४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १३ वटा अस्पताल तथा ११० वटा सूचीकृत सुरक्षित गर्भपतन सेवा केन्द्र सञ्चालनमा रहेका छन् । सुर्खेतमा २३, दैलेखमा १५, जाजरकोट र मुगुमा ११–११, सल्यानमा १०, रुकुम पश्चिममा ७, कालिकोटमा १७, डोल्पामा ४, हुम्लामा ३ र जुम्लामा १ सेवा केन्द्र छन् । तर भौगोलिक विकटता, यातायातको अभाव, दक्ष जनशक्तिको कमी, सेवाको असमान वितरण र गोपनीयतासम्बन्धी चिन्ताका कारण ग्रामीण क्षेत्रका महिलाहरू अझै सुरक्षित सेवाबाट वञ्चित हुन बाध्य रहेको उनले बताइन् ।

आर्थिक वर्ष २०८०र/१ मा कर्णाली प्रदेशमा ५ हजार ७६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । सेवा लिनेहरूमध्ये करिब २० प्रतिशत २० वर्षमुनिका किशोरी रहेको तथ्यांकले किशोरवयमै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी चुनौती बढ्दो रहेको संकेत गरेको गुरुङको भनाइ थियो ।

उनले कर्णालीका किशोरी तथा महिलामा गर्भपतनसम्बन्धी कानुनी जानकारी कमजोर रहेको पनि बताइन् । १२ देखि १९ वर्ष उमेर समूहका ८९.२ प्रतिशत किशोरीले गर्भपतनबारे सुनेका भए पनि केवल ४९.८ प्रतिशतलाई मात्र नेपालमा गर्भपतन कानुनी रूपमा अनुमति प्राप्त सेवा हो भन्ने जानकारी रहेको उनको भनाइ छ । प्रदेशका केवल ३३ प्रतिशत महिलालाई गर्भपतनसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी रहेको तथ्यले कानुनी साक्षरता अभावको अवस्था उजागर गरेको उनले बताइन् ।

गुरुङका अनुसार सामाजिक लाञ्छना, परिवारको दबाब, गोपनीयता भंग हुने डर तथा सुरक्षित सेवाबारे जानकारीको कमीले धेरै महिलाहरू स्वास्थ्य संस्थासम्म पुग्नै नसक्ने अवस्था छ । उनले अनिच्छित गर्भधारण न्यूनीकरण गर्न किशोर–किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, परिवार नियोजन सेवा तथा गर्भनिरोधक साधनको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा अधिवक्ता गीता कोइरालाले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिलाउन नेपालमा भएको लामो संघर्षबारे जानकारी दिँदै कानुनले अधिकार सुनिश्चित गरे पनि व्यवहारमा महिलाहरू अझै विभेद र अन्यायको सिकार भइरहेको बताइन् ।

उनका अनुसार २०५३ सालमा गर्भ संरक्षणसम्बन्धी विधेयक ल्याउने प्रयास सुरु भएको थियो । विभिन्न राजनीतिक उतारचढावका बीच अन्ततः २०५९ साल असोज १० गते मुलुकी ऐनको एघारौं संशोधनमार्फत नेपालमा सुरक्षित गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको थियो ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ, बलात्कार वा हाडनाताबाट रहेको गर्भ २८ हप्तासम्म तथा महिलाको ज्यान वा शारीरिक–मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्ने अवस्था भए चिकित्सकको सिफारिसमा गर्भपतन गर्न सकिने व्यवस्था गरेको छ ।

तर कानुनी मान्यता प्राप्त भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि गर्भपतनसम्बन्धी मुद्दामा महिलाहरू जेल पुग्ने अवस्था अन्त्य नभएको कोइरालाले बताइन् । आर्थिक वर्ष २०६२/६३ देखि २०७९/८० सम्म गर्भपतनसम्बन्धी २४५ मुद्दा दर्ता भएका छन् । तीमध्ये १४० जनाले सजाय भोगेका छन्, जुन कुल मुद्दाको ५७.१४ प्रतिशत हो ।

‘गर्भपतन गर्न बाध्य पार्ने व्यक्ति कानुनी कारबाहीबाट बच्ने तर बाध्यतामा परेका महिलाहरू नै सामाजिक र कानुनी दबाबको सिकार बन्ने अवस्था अझै कायम छ,’ उनले भनिन् । ‘सुरक्षित गर्भपतनलाई केवल कानुनी छुटका रूपमा नभई महिलाको मौलिक तथा प्रजनन अधिकारका रूपमा बुझ्न आवश्यक छ ।’

कोइरालाले यौन हिंसापीडित महिलाले झनै जटिल अवस्था भोग्नुपरेको उदाहरण प्रस्तुत गरिन् । उनले सुर्खेतकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएपछि डर, धम्की र अज्ञानताका कारण ३० हप्तापछि मात्रै स्वास्थ्य संस्थामा पुगेको घटना उल्लेख गरिन् । अपराधीहरू सजाय पाए पनि ती किशोरीले गर्भपतनको अनुमति नपाएको भन्दै उनले वर्तमान प्रणालीलाई थप पीडितमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याइन् ।

प्रदेश अस्पताल सुर्खेतका स्त्रीरोग विशेषज्ञ डा ललितजंग शाहीले असुरक्षित गर्भपतनका कारण अस्पतालमा आउने जटिल बिरामीहरूको संख्या अझै चिन्ताजनक रहेको बताए । उनका अनुसार धेरै महिलाहरू चिकित्सकको परामर्शबिना औषधि पसलबाट गर्भपतनसम्बन्धी औषधि खरिद गरेर सेवन गर्ने र अवस्था जटिल बनेपछि मात्र अस्पताल पुग्ने गरेका छन् ।

‘समयमै स्वास्थ्य संस्थामा पुगे धेरै जटिलता रोक्न सकिन्छ,’ उनले भने, ‘तर कतिपय बिरामीहरू अत्यन्त गम्भीर अवस्थामा मात्रै अस्पताल पुग्ने भएकाले उपचारमा चुनौती थपिने गरेको छ ।’ जनचेतनाको कमी, गलत सूचना तथा स्वास्थ्य सेवाप्रतिको डरले पनि समस्या बढाइरहेको उनको भनाइ थियो ।

उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश मातृकाप्रसाद भण्डारीले कानुनअनुसार र असल नियतका साथ गरिएको कामलाई न्यायालयले अपराधका रूपमा नहेर्ने स्पष्ट पारे । महिलाको स्वास्थ्य अधिकार संविधानले सुनिश्चित गरेको अधिकार भएकाले त्यसको कार्यान्वयनमा अनावश्यक भ्रम र डर हटाउनुपर्ने उनले बताए ।

‘न्यायालयको उद्देश्य अधिकारको संरक्षण गर्नु हो, अधिकारबाट वञ्चित गर्नु होइन,’ उनले भने । ‘महिलाले कानुनले दिएको अधिकार प्रयोग गर्दा अपराधबोध वा डर महसुस गर्नुपर्ने अवस्था रहनु हुँदैन ।’

जिल्ला न्यायाधीश बसन्तराज जोशीले कानुनी व्यवस्था पर्याप्त भए पनि त्यसबारे नागरिकसम्म जानकारी नपुग्नु मुख्य समस्या रहेको बताए । ग्रामीण तथा दुर्गम क्षेत्रमा कानुनी साक्षरता अझै कमजोर रहेको उल्लेख गर्दै उनले कानुनी सचेतना अभियानलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘धेरै महिलाहरू आफूलाई उपलब्ध अधिकारबारे जानकारी नपाएकै कारण सेवा लिनबाट वञ्चित भइरहेका छन्,’ उनले भने । ‘कानुनको प्रभावकारिता त्यसको कार्यान्वयन र जनचेतनामा निर्भर हुन्छ ।’

सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले असुरक्षित गर्भपतन न्यूनीकरणका लागि प्रशासनले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने बताए । चिकित्सकको सिफारिसबिना गर्भपतनसम्बन्धी औषधि बिक्री–वितरण हुन नदिन मेडिकल र निजी क्लिनिकहरूको नियमित अनुगमन गरिने उनले बताए ।

‘बजारमा जथाभावी औषधि बिक्री हुने अवस्था रोक्न आवश्यक छ,’ उनले भने । ‘चिकित्सकको पर्चाबिना कसैलाई पनि गर्भपतनसम्बन्धी औषधि उपलब्ध गराउन नदिने विषयमा प्रशासन कडाइका साथ अघि बढ्छ ।’ उनले सुरक्षित सेवा, कानुनी सचेतना र प्रभावकारी नियमनलाई सँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेलले असुरक्षित गर्भपतन न्यूनीकरणका लागि नेपाल प्रहरीले विभिन्न सचेतनामूलक तथा समन्वयात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले महिला तथा बालबालिकासम्बन्धी हिंसा, यौन अपराध र प्रजनन स्वास्थ्यसँग जोडिएका विषयमा समुदायस्तरमा सचेतना फैलाउने काम भइरहेको जानकारी दिए ।

‘प्रहरीको भूमिका केवल अपराध अनुसन्धानमा सीमित छैन,’ उनले भने । ‘असुरक्षित गर्भपतनका जोखिम, यौन हिंसा र कानुनी अधिकारबारे समुदायमा सचेतना अभिवृद्धि गर्ने काम पनि निरन्तर भइरहेको छ ।’ उनले समयमै उजुरी, सूचना र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न प्रहरी, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य लाइभ मिडियाका प्रकाशक तथा प्रबन्ध निर्देशक अर्जुन अधिकारीले सुरक्षित गर्भपतन, प्रजनन स्वास्थ्य अधिकार र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा तथ्यमा आधारित बहस आवश्यक रहेको बताए । उनले स्वास्थ्य लाइभ मिडियाले कर्णाली र सुदूरपश्चिमका दुर्गम जिल्लासम्म पुगेर स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया र संवाद सञ्चालन गर्दै आएको जानकारी दिए ।

‘दुर्गम क्षेत्रका महिला र किशोरीहरू अझै पनि सूचना र सेवाको पहुँचबाट टाढा छन्,’ उनले भने । ‘सुरक्षित गर्भपतनजस्तो संवेदनशील विषयमा समाजमा रहेका भ्रम, डर र कलंक हटाउन निरन्तर बहस र सचेतना आवश्यक छ ।’

उनले स्वास्थ्य अधिकारसम्बन्धी विषयमा नीति निर्माण तह, सेवा प्रदायक र समुदायबीच संवाद बढाउन यस्ता कार्यक्रम आयोजना गरिएको बताउँदै कानुनले सुनिश्चित गरेका अधिकारबारे नागरिकलाई सुसूचित बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।