डोल्पा जिल्ला पूर्ण खोप शुनिस्चितता जिल्ला घोषणा : कर्णालीमा दोस्रो स्थानमा

जैतुन अनलाइन | २०८३ असार ८ गते सोमवार

असार ०८,

डोल्पा : डोल्पा जिल्ला पूर्णखोप सुनिश्चतता, निरन्तरता  तथा दिगोपना घोषणा भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत डोल्पा जिल्ला पूर्णखोप सुनिश्चतता, निरन्तरता  तथा दिगोपना घोषणा गरिएको हो ।  आईतवार एक कार्यक्रमका बिच डोल्पा सदरमुकाम दुनैमा घोषणा सभा गरिएको थियो । पूर्णखोप सुनिश्चतता, निरन्तरता  तथा दिगोपना घोषणा गर्ने सवै मापदण्ड पूरा भएपछी डोल्पा जिल्लालाई आईतवार घोषणा गरिएको छ ।

राष्ट्रिय खोप तालिकामा समावेश भएका  १५ महिना उमेरभित्रमा पाउनु पर्ने सबै खोपहरू, सबै बालबालिकाले पूर्णरुपमा लिएको एवं   पछि तालिकामा अन्य खोपहरू थप भएमा  सो समेत लिएको अवस्थामा पूर्णखोप सुनिश्चतता, निरन्तरता  तथा दिगोपना घोषणा गर्ने गरिन्छ । यो रा्ष्ट्रिय खोप कार्यक्रममा १६ महिना देखि २३ महिनासम्म उमेरको बालबालिकामा खोप अवस्थाको पहिचान र विश्लेषण गरिएको हुन्छ ।

हरेक बर्ष गरिने यो घोषणा कार्यक्रममा डोल्पा जिल्ला यस बर्ष कर्णाली प्रदेश मै दोस्रो स्थानमा परेको छ । अघिल्लो बर्ष अन्तिम स्थानमा रहेको डोल्पा जिल्ला पूर्णखोप सुनिश्चतता, निरन्तरता  तथा दिगोपना घोषणामा दोस्रो स्थानमा  परेको हो  । यस बर्ष डोल्पा जिल्ला खोप कार्यक्रममा कागजी प्रकृया र तथ्याङ्कमा निकै अब्बल रहेको र यो कार्यक्रम हरेक बर्ष गरि रहनुपर्ने भएकोले यहि उर्जा हरेक बर्ष निरन्तर रहोस भन्ने शुभकामना प्रदान गर्दै प्रदेशका प्रतिनिधि ओमप्रकाश पौडेलले पूर्णखोप सुनिश्चतता, निरन्तरता  तथा दिगोपना घोषणा गरेको प्रमाणपत्र जिल्ला खोप समन्वय समितिका अध्यक्ष श्याम बहादुर रोकायालाई हस्तान्तरण गरे ।

जिल्लाका ८ वटै पालिकाकालाई सम्मान गर्दै जिल्ला खोप समन्वय समितिले पालिकाका स्वास्थ्य प्रमुखहरुलाइ प्रमाणपत्र हस्तान्तरण गरेको थियो भने जिल्लामै सवैभन्दा पहिलो पालिका पूर्णखोप सुनिश्चतता, निरन्तरता  तथा दिगोपना घोषणा गर्ने त्रिपूरासुन्दरी नगरपालिकालाइ समेत पहिलो घोषणाको प्रमाण पत्र प्रदान गरेको थियो । स्वास्थ्य जस्तो सम्बेदनशिल कुरामा अहोरात्र सवै स्वास्थ्यकर्मिहरु निरन्तर लागि रहेकोमा धन्यवाद दिदै आगामी दिनम पनि सफल रहने गरी र नागरिकले सेवा सहज पाएको अनुभुति गर्ने गरी काम गर्न सवै स्वास्थ्यकर्मिहरुलाइ जिल्ला खोप समन्वय समितिका अध्यक्ष श्याम बहादुर रोकायाले आग्रह गरे ।

स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजन रावलले यो खास नयाँ कुनै कुरा नभएको र हरेक बर्ष गर्नैपर्ने कार्यक्रम भएको बताउदै खोपवाट कुनैपनि वालवालिका नछुट्ने गरी काम गर्नुपर्ने बताए । उनले भने यो हाम्रो नियमित कार्यक्रम हो गर्नै पर्छ तर सत्य र सहि तथ्याङ्क भने राख्न जरुरी छ यो बर्षको मेहेनत निकै सन्तुष्टी मिल्ने खालको छ सवै धन्यवादका पात्र हुन । जिल्ला समन्वय समितिको सभा हलमा भएको कार्यक्रममा स्वास्थ्यकर्मिले नृत्य समेत प्रस्तुत गरेका थिए।