
डोल्पा । डाेल्पाकाे हिमाली भेग डोल्पोबुद्ध गाउँपालिकाले हिमाली क्षेत्रको बहुमूल्य प्राकृतिक सम्पदाकाे रुपमा परिचित सिबक्थोर्न (Sea Buckthorn) को संरक्षण, प्रवर्द्धन तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले सिबक्थोर्न जुस उत्पादन कार्यको सुरुवात गरेको छ।
सिबक्थोर्न डोल्पाकाे डाेल्पाेबुद्व गाउँपालिकाकाे उच्च हिमाली क्षेत्रमा समुद्री सतहदेखि करिब ४,००० देखि ४,५०० मिटरसम्मको उचाइमा नदी तथा खोलाका किनारमा प्राकृतिक रूपमा प्रशस्त पाइने बहुउपयोगी वनस्पति हो। उच्च पोषणयुक्त तथा औषधीय गुणले भरिपूर्ण यस फलमा भिटामिन C, ओमेगा ३, ६, ७ र ९ लगायतका महत्वपूर्ण पोषक तत्व पाइन्छन्। यही कारणले यसलाई “धर्तीको अमृत”, “सञ्जीवनी बुटी” तथा “Himalayan Super Fruit” का रूपमा समेत चिनिन्छ।
उच्च पोषणयुक्त तथा औषधीय गुणले भरिपूर्ण भए पनि यसको महत्व र उपयोगिताबारे स्थानीय स्तरमा पर्याप्त जानकारी नहुँदा यसको उचित उपयोग हुन सकेको थिएन। साथै संरक्षण र प्रवर्द्धनको अभावका कारण यसको दिगो व्यवस्थापनमा चुनौती देखिएको थियो। यस अवस्थालाई मध्यनजर गर्दै डोल्पोबुद्ध गाउँपालिकाले सिबक्थोर्नको संरक्षण, प्रवर्द्धन तथा मूल्य अभिवृद्धिका लागि वडा नं. १, धोमा seabuckthorn प्रशोधन तथा उत्पादन केन्द्र (Processing Plant) स्थापना गरेको छ। गाउँपालिकाको पहलमा स्थानीय स्तरमै सिबक्थोर्न जुस उत्पादन सुरु गरिएको डाेल्पाेबुद्व गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर थापाले बताए।

गाउँपालिकाले यस कार्यक्रमलाई प्रारम्भिक रूपमा पाइलट परियोजनाका रूपमा अगाडि बढाएको जनाएको छ। आगामी दिनमा सिबक्थोर्नको संरक्षण, बजार प्रवर्द्धन, प्रशोधन तथा व्यावसायिक खेती विस्तारमार्फत स्थानीय आयआर्जन वृद्धि, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा टेवा पुर्याउने लक्ष्य राखिएको छ। स्थानीय स्रोत र सम्भावनाको दिगो उपयोग गर्दै सिबक्थोर्नलाई डोल्पाको पहिचान र समृद्धिको आधारका रूपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको जनाइएको छ।



“सिबक्थोर्न संरक्षण गरौं, स्वस्थ जीवन र आयआर्जन बढाऔं ।” भन्ने मुल नाराकाे साथ उत्पादन गरि व्यवसायीकरण, बजारीकरण गर्ने तयारी रहेकाे छ। सिबक्थाेर्नकाे महत्त्व बुझेपछि स्थानीय बासिन्दामा पनि उत्पादन तथा प्रसाेधन तर्फ चासाे बढेकाे पाइएको छ।