
जेठ ३०,
डोल्पा : ठूलीभेरी नगरपालिकामा जल सम्मेलन सम्पन्न भएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाको आयोजना, तथा सुस्वा आयोजना सहयोग इकाइ (PSU) को सहजीकरणमा पालिकास्तरीय उपभोक्ता समिति तथा मर्मत सम्भार कार्यकर्ताहरूको दिगोपना तथा सुशासन कार्यशाला गोष्ठीका साथै जल सम्मेलन सफलतापूर्वक सम्पन्न भएको हो।
यहि जेठ २८ र २९ गते ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा उक्त जल सम्मेलन सम्पन्न भएको हो । दुई दिवसीय सम्मेलनमा खानेपानी तथा सरसफाइ योजनाको दिगोपना, प्रभावकारी सञ्चालन तथा व्यवस्थापन, मर्मत सम्भार प्रणाली, वित्तीय व्यवस्थापन, सुशासन, पारदर्शिता, सेवा शुल्क संकलन, संस्थागत विकास तथा उपभोक्ता समितिहरूको क्षमता अभिवृद्धिका विषयमा विस्तृत छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो। सहभागीहरूले आफ्ना योजनाहरूमा रहेका चुनौती, अवसर तथा असल अभ्यासहरू प्रस्तुत गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपायहरूबारे महत्वपूर्ण सुझाव दिएका थिए।

कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको स्व-मूल्याङ्कन समेत गरिएको थियो। सो स्व-मूल्याङ्कनको नतिजामा रह खानेपानी तथा सरसफाइ उपभोक्ता समिति प्रथम, जुफाल एर्पोट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति द्वितीय तथा डाँगीवाडा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तृतीय स्थान हासिल गर्न सफल भएका सुस्वा कार्यक्रमा प्रतिनिधि तिलक आरसीले जानकारी दिए। उनका अनुसार उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप विजेता समितिहरूलाई प्रशंसा–पत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो।
जल सम्मेलनको अन्त्यमा सहभागी उपभोक्ता समिति पदाधिकारीहरू, मर्मत सम्भार कार्यकर्ताहरू, जनप्रतिनिधिहरू तथा सरोकारवालाहरूले खानेपानी तथा सरसफाइ योजनाहरूको दिगोपना सुनिश्चित गर्न, नियमित मर्मत सम्भारलाई प्राथमिकता दिन, पारदर्शी वित्तीय व्यवस्थापन कायम गर्न, प्रभावकारी महसुल संकलन गर्न तथा नगरपालिका र उपभोक्ता समितिबीचको समन्वयलाई थप सुदृढ बनाउन सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए।

यो कार्यक्रमले खानेपानी तथा सरसफाइ सेवाको गुणस्तर सुधार, संस्थागत सुशासन प्रवर्द्धन, उपभोक्ता समितिहरूको क्षमता विकास तथा योजनाहरूको दिगो व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार सम्मेलनबाट प्राप्त सुझाव, सिकाइ तथा प्रतिबद्धताहरूलाई आगामी योजना तथा कार्यक्रमहरूमा समावेश गरी कार्यान्वयन गरिनेछ।
ठुलीभेरी नगरपालिकामा भएको जल सम्मेलनमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरू, नगरपालिकाभित्रका १५ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरू, मर्मत सम्भार कार्यकर्ताहरू (VMW), सरोकारवाला निकायका प्रतिनिधिहरू तथा अन्य सहभागीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा सुस्वा आयोजना सहयोग इकाइ (PSU) बाट Governance Specialist इन्जिनियर निराजन श्रेष्ठ,WASH Advisor इन्जिनियर अक्षय सिंह ठाकुरी, Technical Quality Facilitator शंकर नेपाली लगायतका प्राविधिक टोलीले सहजीकरण गर्नुभएको थियो। साथै नगरपालिकाको ध्ब्क्ज् ग्लष्त का कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।