कर्णाली प्रदेश अस्पतालः बिरामीको चाप बढ्दै, जनशक्ति सधैँ अभाव

जैतुन अनलाइन | २०८३ जेष्ठ २५ गते सोमवार

जेठ २५,

सुर्खेतः कर्णाली प्रदेशका नागरिकका लागि उपचारको मुख्य भरोसा बनेको प्रदेश अस्पताल सुर्खेत अहिले बढ्दो बिरामी चाप र जनशक्ति अभावको दोहोरो समस्यासँग जुधिरहेको छ। प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था भएकाले कर्णालीका दश जिल्लासहित सुदूरपश्चिम र लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लाबाट समेत बिरामीहरू यही अस्पतालमा उपचारका लागि पुग्छन्। तर बिरामीको संख्या निरन्तर बढ्दै गए पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावले अस्पतालको सेवा विस्तार र गुणस्तर दुवै प्रभावित बन्न थालेका छन्।

दैनिक १५ सयदेखि २ हजारसम्म बिरामीले ओपीडी सेवा लिने प्रदेश अस्पतालमा पछिल्ला वर्षहरूमा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। अस्पताल प्रशासनका अनुसार अधिकांश विभागमा बिरामीको संख्या बढ्दै गइरहेको छ। तर आवश्यक जनशक्ति नहुँदा अस्पतालले उपलब्ध स्रोत र पूर्वाधारको पूर्ण उपयोग गर्न सकेको छैन।

अस्पतालमा हाल १५० शय्याका लागि ३२५ जनाको दरबन्दी स्वीकृत छ। तीमध्ये २०१ जना मात्र स्थायी कर्मचारी कार्यरत छन्। करिब ५० चिकित्सकसहित विभिन्न पद रिक्त छन्। अस्पतालले सेवा सञ्चालनका लागि करार, अस्पताल विकास समिति तथा अन्य स्रोतबाट जनशक्ति व्यवस्थापन गर्दै आएको छ। हाल विभिन्न स्रोतबाट नियुक्त कर्मचारीसहित ५५७ जना कार्यरत रहे पनि विशेषज्ञ चिकित्सक, नर्सिङ तथा प्राविधिक जनशक्तिको अभाव कायमै छ।

विशेषज्ञ चिकित्सकको अवस्था झन् कमजोर छ। १४ जनाको दरबन्दी रहेकोमा स्थायी रूपमा एक जना मात्रै विशेषज्ञ चिकित्सक कार्यरत छन्। अधिकांश विशेषज्ञ सेवा संघीय सरकारबाट काजमा आएका चिकित्सकको भरमा सञ्चालन भइरहेको छ। अस्पतालका अनुसार दुई जना चिकित्सकको काज फिर्ता भइसकेको छ भने अन्यको पनि फिर्ता हुने क्रम जारी छ। यसले आगामी दिनमा विशेषज्ञ सेवा नै प्रभावित हुन सक्ने चिन्ता बढाएको छ।

अस्पतालकी प्रशासन प्रमुख अनिता ज्ञवालीका अनुसार अहिले अस्पतालको सेवा करार र काजमा आएका जनशक्तिको भरमा चलिरहेको छ। उनले अस्पतालले अपेक्षित रूपमा सेवा दिन नसक्नुको प्रमुख कारण जनशक्ति अभाव नै भएको बताइन्।

‘हामीसँग बिरामीको चाप धेरै छ तर त्यसअनुसार चिकित्सक र स्वास्थ्यकर्मी छैनन्। संघबाट आएका चिकित्सक र अन्य कर्मचारीको काज फिर्ता हुँदै जाने हो भने अहिले सञ्चालन भइरहेका सेवासमेत निरन्तरता दिन कठिन हुन सक्छ,’ उनले भनिन्।

जनशक्ति अभावका कारण अस्पतालले नयाँ संरचना र उपकरणको समेत पर्याप्त उपयोग गर्न सकेको छैन। प्रदेश सरकारले करिब ५०० शय्या सञ्चालन गर्न सक्ने क्षमताको अत्याधुनिक भवन निर्माण गरिसकेको छ। तर आवश्यक कर्मचारी अभावकै कारण अस्पतालले हाल ३०० शय्यामात्र सञ्चालन गर्न सकेको छ। बाँकी संरचना प्रयोगविहीनजस्तै अवस्थामा छन्।

ज्ञवालीका अनुसार अस्पतालमा करोडौं रुपैयाँ मूल्यका अत्याधुनिक स्वास्थ्य उपकरण जडान गरिएका छन्। तर ती उपकरण सञ्चालन गर्न दक्ष जनशक्ति नहुँदा केही उपकरण पूर्ण रूपमा प्रयोगमा आउन सकेका छैनन्।

उनले भनिन्, ‘बिरामीको चाप प्रत्येक वर्ष बढिरहेको छ। अस्पतालमा करोडौं रुपैयाँका उपकरण छन् तर सञ्चालन गर्ने जनशक्ति अभावमा ती पूर्ण क्षमतामा प्रयोग गर्न सकिएको छैन। जनशक्ति नहुँदा सेवा विस्तार मात्र होइन, हाल सञ्चालन भइरहेका सेवालाई पनि निरन्तरता दिन चुनौती भइरहेको छ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। गणेश थापाले प्रदेश सरकारसँग पटक–पटक जनशक्ति व्यवस्थापनको माग गरिए पनि समस्या समाधान हुन नसकेको बताए। अस्पताललाई आवश्यक कर्मचारी उपलब्ध गराउने विषयमा प्रदेश सरकार गम्भीर बन्न नसकेको उनको गुनासो छ।

‘हामीसँग पूर्वाधार छ, उपकरण छन्, बिरामी छन् तर पर्याप्त जनशक्ति छैन। न अस्पताललाई आफैं स्थायी पदपूर्ति गर्ने अधिकार दिइएको छ, न सरकारले आवश्यक पदपूर्ति गरिदिएको छ। यस्तो अवस्थामा सेवा विस्तार कसरी गर्ने भन्ने प्रश्न हाम्रो सामु छ,’ उनले भने।

उनका अनुसार ५०० शय्याको संरचना पूर्ण क्षमतामा सञ्चालन गर्न रिक्त दरबन्दी पूर्ति, विशेषज्ञ चिकित्सकको व्यवस्थापन, स्वास्थ्य बिमाको बक्यौता भुक्तानी र पर्याप्त बजेट सुनिश्चित गर्न प्रदेश तथा संघीय सरकारको विशेष पहल आवश्यक छ।

अस्पतालको तथ्यांकले पनि बिरामीको संख्या निरन्तर उकालो लागिरहेको देखाउँछ। आर्थिक वर्ष २०७९/८० मा १ लाख ९१ हजार ९६६ जनाले ओपीडी सेवा लिएका थिए। आर्थिक वर्ष २०८०/८१ मा यो संख्या बढेर २ लाख ८ हजार ११४ पुगेको थियो। आर्थिक वर्ष २०८१/८२ मा २ लाख १२ हजार ७८ जनाले सेवा लिए। चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म मात्रै १ लाख ६६ हजार ३११ जनाले ओपीडी सेवा लिइसकेका छन्। यही दर कायम रहे वर्षको अन्त्यसम्म यो संख्या अघिल्ला वर्षहरूको तुलनामा अझै बढ्ने देखिन्छ।

विभागगत रूपमा हेर्दा मेडिसिन सेवामा सबैभन्दा बढी बिरामी आउने गरेका छन्। चालु आर्थिक वर्षको चैतसम्म मेडिसिन ओपीडीमा ३८ हजार ४६ बिरामीले सेवा लिएका छन्। अर्थोपेडिकमा २३ हजार ९२३, शल्यक्रियामा १३ हजार ८०७, प्रसूति तथा स्त्रीरोगमा १३ हजार २३७, सामान्य ओपीडीमा १२ हजार १७७ तथा आँखा सेवामा १० हजार ९६१ बिरामीले उपचार गराएका छन्।

आकस्मिक सेवामा पनि बिरामीको संख्या वर्षेनि बढिरहेको छ। आर्थिक वर्ष २०७९/८० मा २१ हजार १७७ जनाले आकस्मिक सेवा लिएका थिए। यो संख्या २०८०/८१ मा २४ हजार ३२६ र २०८१/८२ मा २५ हजार ३७९ पुगेको थियो। चालु आर्थिक वर्षको चैतसम्म मात्रै १८ हजार ७६३ जनाले आकस्मिक सेवा लिइसकेका छन्।

त्यस्तै चालु आर्थिक वर्षको चैतसम्म १८ हजार ६०१ जना बिरामी अस्पतालमा भर्ना भएका छन्। सोही अवधिमा ४ हजार २२९ प्रसूति सेवा, १ हजार १९७ सिजेरियन शल्यक्रिया तथा ३ हजार ६१२ वटा ठूला शल्यक्रिया सम्पन्न भएका छन्। यसले अस्पतालमाथि रहेको उपचारको भार झन् स्पष्ट पार्छ।

अस्पतालका लागि अर्को चुनौती स्वास्थ्य बिमा कार्यक्रम बनेको छ। स्वास्थ्य बिमामार्फत उपचार गराउने बिरामीको संख्या बढेसँगै अस्पतालले ठूलो रकम पाउन बाँकी रहेको जनाएको छ। चालु आर्थिक वर्षको चैतसम्म ९६ हजार ३८८ जना बीमित सेवाग्राहीले अस्पतालबाट सेवा लिएका छन्। तर स्वास्थ्य बिमाबापत प्राप्त हुनुपर्ने करिब ३० करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ।