‘शून्य’ भनेको बजेटको रकम शून्य भन्ने अर्थमा होइन : प्रेम बोहोरा “कोग्ले”

जैतुन अनलाइन | २०८३ जेष्ठ १६ गते शनिवार
जेठ १६,
डोल्पा :  प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको संघिय सरकारले आगामी आर्थिक बर्षका लागि बजेट ल्याएको छ । जेठ १५ गते शुक्रवार अपरान्ह ४ बजे संघिय सरकारको संसदमा दुबै सदनको संयुक्त बैठकमा सरकारका अर्थ मन्त्री स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गरे हुन। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक भयो।
चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत विनियोजन भयो भने राजस्व १४ खर्ब ४ अर्बको रहने अनुमान गरियो । अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब, आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने भनेर बजेट प्रस्तुत हुदा संघिय बजेटले डोल्पालाई भने छुन नसकेको डोल्पाका नागरिकको गुनासो सामाजिक सञ्जालमा आई रहेको छ ।

सामाजिक अभियान्तावाट राजनितिमा सक्रिय रहेका डोल्पाका युवा प्रेम बहादुर बोहराले संघिय बजेटमा असन्तुष्टी जनाएका छन । उनि लेख्छन मैले ‘शून्य’ भनेको बजेटको रकम शून्य भन्ने अर्थमा होइन, राष्ट्रिय प्राथमिकतामा डोल्पा नपरेको सन्दर्भमा हो । प्रश्न बजेट आयो कि आएन भन्ने होइन, प्रश्न सरकारले डोल्पालाई कति प्राथमिकतामा राख्यो भन्ने हो । रातो किताबमा डोल्पाका लागि विभिन्न मन्त्रालयमार्फत केही न केही बजेट आउँछ नै । हाम्रो महत्व र आवश्यकताका योजना माननीय सांसद धनबहादुर बुढा ज्यूमार्फत प्रस्तावित छन्, केही कर्मचारीतन्त्रको पहलबाट र केही सत्तापक्षसँगको समन्वयबाट ।

तर खिन्नताको विषय के हो भने सरकारले राष्ट्रिय प्राथमिकता र विशेष महत्वका योजनाहरू बजेट वक्तव्यमै स्पष्ट रूपमा उल्लेख गर्दा डोल्पाको नामसमेत लिन आवश्यक ठानेन। कर्णालीलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको, मिसन मोडमा काम गर्ने दाबी गरेको र विज्ञ नेतृत्व रहेको सरकारले डोल्पाका विषयमा कुनै स्पष्ट सन्देश नदिनु निराशाजनक लाग्यो । डोल्पामा विगतमा पनि बजेट आएको छ, अहिले पनि आउँछ। तर जिल्लाबासीको गुनासो के हो भने अधिकांश बजेट साना–साना टुक्रे योजनामै सीमित हुने गरेका छन्। हाम्रो अपेक्षा भने जिल्लाको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सक्ने, अर्बौं रुपैयाँ लगानी हुने रणनीतिक र दीर्घकालीन योजनाहरूको हो ।
डोल्पा कुनै एक जिल्लाको मात्र विषय होइन, यो राष्ट्रिय महत्वको क्षेत्र हो । यहाँको पर्यटन, जडीबुटी, कृषि तथा प्राकृतिक सम्पदाको सम्भावनालाई व्यवस्थित रूपमा विकास गर्न सकियो भने त्यसले डोल्पामात्र होइन, समग्र नेपाललाई नै समृद्ध बनाउन सक्छ। डोल्पाको विकासबिना नेपालको समग्र विकासको यात्रा पनि अधुरो रहन्छ । यो कुरा पहिले हामीले बुझ्नुपर्यो । सरकरले बुझ्नुपर्यो र राज्य संयन्त्रले नबुझेको जस्तो गर्नुभएन ।