तर बेथिति छेक्न सक्दैनन्।
सडकका ट्र्याकहरू वर्षौँदेखि त्यही पहरोमा अडिएका छन्
जहाँ ठेकेदारको डोजरले तेल होइन,
विकासको बजेट निलिरहेछ।
कागजमा पिच भइसकेका सडकहरूमा धुलो उडाउँदै
जब कुनै नेताको हेलिकप्टर ओर्लिन्छ,
तब लाग्छ विकास त मात्र आकाशबाट झर्ने एउटा भ्रम रहेछ।
तल जमिनमा त मात्र उही ढुङ्गे युगको सास्ती छ,
घोडाको टापसँगै ठोक्किने मान्छेका दुःखी आवाजहरू छन्
र बिरामी पर्दा अस्पताल होइन, भाग्यलाई सराप्ने एउटा विवश बस्ती छ।कस्तो अचम्मको राजनीति छ यहाँ!
जसले डोल्पाको भूगोल कहिल्यै हिँडेर नापेन,
उसैले यहाँको भाग्यको नक्सा कोरिरहेछ।
नेतृत्वको अक्षमताको त कुरै नगरौँ
उनीहरूले त राजनीतिलाई सेवा होइन,
मौसमी खेती बनाए।
चुनावको बेला यार्चा जस्तै बहुमूल्य आश्वासन बाँडे
र जितेपछि डोल्पालाई रित्तो खोस्टो बनाएर छोडिदिए।
अपरिपक्वता यति सम्म कि विचारको मन्थन हुने ठाउँमा
आज पनि यहाँ व्यक्ति पूजा र अन्धभक्तिको जात्रा चल्छ।
जहाँ एउटा पाेका तेल र केही बोरा चामलमा
मान्छेको स्वाभिमान र भविष्यको सौदाबाजी हुन्छ।शिक्षाको कुरा त झन् एउटा नमिठो ठट्टा भएको छ,
विद्यालयका भित्तामा कोरिएका अक्षरहरू भन्दा बढी
नेताका चुनावी नाराहरू स्पष्ट देखिन्छन्।
शिक्षकहरू काजमा शहर झर्छन्,
र विद्यार्थीहरू हिउँसँगै आफ्नो भविष्य जमेको हेर्न बाध्य हुन्छन्।
कस्तो शैक्षिक सुधार हो यो?
जहाँ ज्ञानको दियो बाल्नुपर्ने हातहरू
उमेर नपुग्दै भारी बोक्न र गिटी कुट्न विवस छन्।
जहाँ एउटा बालकले ‘क’ बाट कलम होइन,
‘क’ बाट कष्ट मात्र चिन्न सिकिरहेको छ।
हो, यहाँ विकासका दिवा सपनाहरू वर्षौँदेखि देखाइँदैछ,
तर ती सपनाहरू कहिल्यै विपनाको बिहानी बनेर आएनन्।
योजनाहरू बजेटको खोलोमा बग्छन्
तर गाउँको धारामा अझै पानी झर्दैन।
जहाजको टिकटको लागि पहुँचवालाको गोडा ढोग्नुपर्ने,
एउटा सिटामोलका लागि सिङ्गो जिल्ला धाउनुपर्ने,
अनि सिंहदरबारले डोल्पा समृद्ध भयो भन्दै भाषण छाँट्ने
यो भन्दा ठूलो व्यङ्ग्य अरु के हुन सक्छ?
डोल्पा आज पनि त्यही मोडमा उभिएर आफैँलाई प्रश्न गरिरहेछ।प्रकृतिले दिएको यो उपहारलाई
हाम्रै आफ्नाहरूले कहिलेसम्म अभिशाप बनाइराख्ने?
यहाँको सामर्थ्य र सौन्दर्यलाई
नेतृत्वको असक्षमताले कहिलेसम्म बन्धकी राखिराख्ने?
यो कविता मात्र होइन, एउटा बिउँझिन बाँकी चेतना हो,
किनकि अब डोल्पालाई भाषण र पोस्टर होइन,
परिवर्तन चाहिएको छ।
र अन्तमा डोल्पा,
राज्यको उपेक्षामाथि उभिएको एउटा अन्तहीन व्यङ्ग्य हो।