
चैत्त ०६,
डाेल्पा : डाेल्पाकाे सदरमुकाम दुनै बजारमा रेड पाण्डा संरक्षण परियोजनाकाे प्रभावकारी कार्यनयन सम्बन्धी एक दिने सराेकारवाला गाेष्ठी सम्पन्न भएकाे छ। महिला तथा दलीत जाती उत्थान मञ्च डाेल्पाका अध्यक्ष चन्द्र बहादुर शाहीकाे अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधिहरुकाे सहभागीतामा एक दिने गाेष्ठी सम्पन्न भएकाे हाे।
रेड पाण्डा नेटवर्क लगाएतका संस्थाहरुकाे सहयाेगमा डाेल्पाकाे मुड्केचुला गाउँपालिका भित्र समुदायमा आधारित हाब्रे संरक्षण परियोजना-२ कार्यक्रम संचालन भैरहेको छ। बिश्वमै लाेपउन्मुख प्रजातिमा रहेकाे हाब्रे रेडपाण्डा डाेल्पाकाे मुड्केचुला गाउँपालिका भित्रका विभिन्न सामुदायिक वन क्षेत्रमा केही मात्रामा रहेकाे बताइएको छ। उक्त क्षेत्रमा कति रेड पाण्डाकाे बसाेबास रहेकाे छ भन्ने बारे यकिन तथ्यांक भने कसैले संकलन गर्न सकेका छैनन।
मुड्केचुला गाउँपालिकाकाे वडा नं. १,२,३,५,६,७ का ६ वटा सामुदायिक वनहरुमा रेड पाण्डा रहेको अध्ययनले देखाएको छ। उक्त ६ वटा सामुदायिक वन समिति र २ वटा विधालयमा रेड पाण्डा संरक्षणको लागि विभिन्न जनचेतनामूलक क्रियाकलाप संचालन भैरहेको छ।

कार्यक्रम मार्फत प्रत्येक सामुदायिक वनमा दुई जना वन अभिभावक अर्थात् हेरालाे गरि जम्मा १२ जनाले रेडपाण्डा बसाेबास गर्ने स्थानमा हेरचाह गर्ने गरेका छन। मुड्केचुला गाउँपालिका भित्रका सामुदायिक वन क्षेत्रमा रेड पाण्डा रहेकाे स्थानीयले बताउने गरेका छन। गाेठालाे लगाएत वन क्षेत्रमा आवतजावत गर्दा ठाउँ ठाउँमा रेडपाण्डा भेटिने गरेकाे स्थानीयले बताएका छन।
पहिले पहिले स्थानीयले रेड पाण्डालाई मार्ने गरेतापनि हाल संरक्षण गर्नु पर्छ भन्ने साेचकाे बिकास भएकाे परियाेजनाकाे फाेकल पर्सन भरत थापाले बताएका छन। परियाेजना अन्तरगत समुदाय, विधालय र सामुदायिक वन समितिलाई सचेतनामुलक कार्यक्रम संचालन गर्दा रेड पाण्डा संरक्षणमा सबैको चासाे बढेको थापाले बताए। हाल कार्यक्रम संचालन क्षेत्रमा हाब्रेकाे संख्या कति रहेकाे छ र अन्य कुनकुन क्षेत्रमा पाइन्छ भन्ने आगामी कार्यक्रममा क्रियाकलाप समावेश गर्ने तयारी रहेकाे उनले बताए ।
रेड पाण्डामा बिश्वमै ५ सय देखि एक हजारकाे संख्यामा रहेकाे उल्लेख छ तर आधिकारिक तथ्यांक यकिन हुन सकेकाे छैन। डाेल्पाकाे मुड्केचुलामा केही संख्यामा रेडपाण्डा रहेकाे छ भन्ने अनुमान गरिएको छ।