माघ २५,
दुनै : गोर्खा वेल्फेयर ट्रष्टको निशुल्क शिविरमा ६ सय ६६ जनाले सेवा लिएका छन । गोर्खा वेल्फेयर ट्रष्टको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय डोल्पाको सहयोगमा डोल्पा जिल्ला अस्पतालमा २०८२ माघ २१ गतेदेखि २३ गतेसम्म ३ दिनको निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । यो विशेषज्ञ स्वास्थ्य शिविरमा डोल्पाका नागरिकले बिभिन्न सेवाहरु लिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।
डाक्टर रावलका अनुसार शिविरमा ३ सय २० पुरुष र ३ सय ४६ जना महिला गरी कुल ६ सय ६६ जनाले सेवा लिएका हुन । बिशेष गरी नाक, कान, घाँटीसम्बन्धी जटिल शल्यक्रिया (Myringoplasty) – ५२ जना,सामान्य शल्यक्रिया – ३
जनाका साथै कान सुन्ने उपकरणहरू पनि वितरण गरिएको थियो ।
शिविरमा अपाङ्गता भएका ९६ जना व्यक्तिहरूलाई उपकरण वितरण, २६ जना प्रेषण गरिएका बिरामीले सेवा पाए । यसका साथै यो कार्यक्रमलाई थप सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी, डोल्पाले समेत सहयोग गरेकोले गोर्खा वेल्फेयर ट्रष्ट र स्वास्थ्य सेवा कार्यालयले धन्यवाद दिएको छ । गोर्खा वेल्फेयर ट्रष्टले जिल्लाका सवै पालिकामा बिरामीको परिक्षण गरेर शिविरमा उपचारको लागि तथ्याङ्क पठाइ ३ दिन सम्मको शिविरमा उपचार गराएका थिए ।

गोर्खा वेल्फेयर ट्रष्टले विगतमा २०७६/७७ सालमा पनि सेवा प्रदान गरेको र यसरी यस संस्थाले जिल्लामा निःशुल्क सेवा प्रदान गर्नु डोल्पाका नागरिकका लागी खुसीको कुरा भएको र थप अझै आउने दिनमा पनि सहयोग पाउने अपेक्षा सहित गोर्खा वेल्फेयर ट्रष्टलाई जिल्ला अस्पताल डोल्पाका अध्यक्ष कमल शाहीले धन्यवाद समेत ब्यक्त गरे । २०७६/७७ र २०८२ सालमा यस संस्थालाई डोल्पा जिल्लामा ल्याएर स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुे डाक्टर सिजन रावललाई पनि अध्यक्ष शाहीले धन्यवाद दिएका थिए । ३ दिन सम्म सञ्चालन रहेको निशुल्क स्वास्थ्य शिविरको डोल्पा जिल्ला अस्पतालका अध्यक्ष श्री कमल बहादुर शाहीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो।