स्वैच्छिक सहयोग लिन पाइन्छ चुनावमा चन्दा माग्न पाइँदैन : आयोग

जैतुन अनलाइन | २०८२ माघ २३ गते शुक्रवार
माघ २३,
काठमाडौँ : निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि स्वैच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचारप्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताउनुभएको हो ।

प्रवक्ता भट्टराईकाअनुसार उम्मेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन् । उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले उक्त खातामा संकलित रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने प्रस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग चन्दा ऐन छ । निर्वाचनको लागि, प्रचारप्रसारका लागि आफूलाई शुभेच्छुक, समर्थकबाट सहयोग लिने विषय छन् । निर्वाचन सहयोग लिने विषय छ । त्यसमा उम्मेदवारले, दलले मलाई यति सहयोग दिनुपर्छ, भनेर कसैलाई तोकेर माग्न पाइँदैन, स्वेच्छाले दिन चाहेमा खाता नम्बर यो भनेर निर्वाचन प्रयोजनका लागि खोलेको खातामा लिन पाउँछ ।”

निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ । प्रवक्ता भट्टराईले हालसम्म ८४ लाख ४० हजार थान मतपत्र छपाइ भइसकेको जानकारी दिनुभयो ।  छपाइ भएका मतपत्रहरूमध्ये ७ हजार १३७ वटा बाकसहरू प्याकिङ भइसकेको आयोगले जनाएको छ । प्रवक्ता भट्टराईका अनुसार हालसम्म ३२ वटा जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ र प्याकिङ कार्य पूर्णरूपमा सम्पन्न भइसकेको छ ।  आयोगले बाँकी जिल्लाहरूको मतपत्र छपाइ र व्यवस्थापनको काम पनि युद्धस्तरमा भइरहेको जनाएको छ ।‍