कर्णाली सरकारद्वारा सहिद र जीवन निर्वाह भत्ताका लागि पौने ५ करोड विनियोजन

जैतुन अनलाइन | २०८२ असोज २८ गते मङ्गलवार

असोज २८,

सुर्खेतः कर्णाली प्रदेश सरकारले सहिद तथा जीवन निर्वाह विशेष भत्ताका लागि झन्डै पाँच करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै, प्रदेशको विकास, सुशासन र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न ६ वटा कार्यविधि तथा निर्देशिकालाई समेत स्वीकृति प्रदान गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ को दफा ५ को उप दफा ३ बमोजिम सहिद स्मृति भत्ता वितरणका लागि २ करोड ५५ लाख ७२ हजार रुपैयाँ र जीवन निर्वाह विशेष भत्ता वितरणका लागि २ करोड २९ लाख ८० हजार रुपैयाँ गरी कुल ४ करोड ८५ लाख ५२ हजार रुपैयाँ स्थानीय तहमा अख्तियारी पठाउन स्वीकृति दिएको हो ।

यो रकम आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत पठाइने छ । यसले शहीद परिवार र जीवन निर्वाहमा कठिनाइ भोगेका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको प्रवक्ता शाहले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी (दोस्रो संशोधन) कार्यविधी २०८२ लाई पनि स्वीकृति प्रदान गरेको छ । यस्तै, कर्णाली प्रदेश समपूरक अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२, कर्णाली प्रदेश विशेष अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२, कर्णाली प्रदेश सशर्त अनुदान सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका, २०८२ लाई पनि स्वीकृति प्रदान गरिएको प्रवक्ता शाहले बताए ।