जगदुल्ला गाउँपालिकामा बाल संरक्षण कोष (स्थापना तथा सञ्चालन)कार्यविधि २०८२ पारित

जैतुन अनलाइन | २०८२ असार २५ गते बुधवार

असार २५,

 डाेल्पा : डोल्पाको जगदुल्ला गाउँपालिकाले बाल संरक्षण कोष (स्थापना तथा सञ्चालन)कार्यविधि २०८२ पारित गरेको छ । जगदुल्ला गाउँपालिका अध्यक्ष नारसिँह रोकायाको अध्यक्षतामा उपाध्यक्ष अमृता लामा सहित कार्यपालिका सदस्यको उपस्थितिमा बसेको गाउँ कार्यपालिका बैठकले जगदुल्ला गाउँपालिका बाल संरक्षण कोष (स्थापना तथा सञ्चालन)कार्यविधि २०८२ पारित गरेको हो ।

जगदुल्ला गाउँपालिका भित्रका आपतकालिन एवम् जोखिम अवस्थामा रहेका बालबालिकाहरूलाई तत्काल संरक्षण, उद्दार, राहत र पारिवारिक पुर्नस्थापना गर्न तथा बालबालिकाको हकहितको संरक्षण र सम्बर्द्धन गर्नका लागि स्थानीय स्तरमा कोष स्थापना गरी परिचालन गर्न वाञ्छनीय भएकोले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०८२ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी गाउँ कार्यपालिकाले यो कार्यविधि पारित गरी जारी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र ऐडीले बताए ।

जगदुल्ला गाउँपालिकामा बाल संरक्षण कोष (स्थापना तथा सञ्चालन)कार्यविधि २०८२ पारित भएसंगै गाउँपालिका भित्र आपतकालिन एवम् जोखिम अवस्थामा रहेका बालबालिकाको संरक्षण तथा हक अधिकारमा थप टेवा पुग्ने विश्वास रहेको जगदुल्ला गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सविना बोहोराले बताएकी छिन । यो कार्यविधि पारित गर्ने डोल्पाको पहिलो स्थानीय तह भएकोले यसलाई प्रभावकारी रुपमा लागु हुनेगरि कार्यन्वयन हुने बोहोराले बताइन । डोल्पाको जगदुल्ला गाउँपालिकामा बाल संरक्षण कोषकाे पदाधिकारीमा गाउँपालिका उपाध्यक्ष अध्यक्ष रहने व्यवस्था गरिएको छ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत सदस्य, सामाजिक विकास समिति संयोजक सदस्य, महिला तथा बालबालिका शाखा प्रमुख सदस्य,गाउँपालिका स्तरीय बाल सञ्जाल वा बालक्लबको एक जना सदस्य प्रतिनिधि सदस्य, बालबालिकाको क्षेत्रमा कार्यरत संघ संस्थामध्येबाट संयोजकले मनोनित गरेको १ जना सदस्य, बाल कल्याणअधिकारी सदस्य सचिव रहने कार्यविधिमा उल्लेख गरेकाे छ।