
असार ०६,
दैलेखः दैलेखको जलजलेमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासभण्डार रहेको पुष्टि भएको छ । अनुसन्धानको नेतृत्व गरेको चिनियाँ जिओलोजिकल सर्भे कम्पनीले मिथेन ग्यास रहेको पुष्टिसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो ।
अहिलेको नतिजा जलजलेको एउटा कुवाको मात्रै भएकाले जिल्लाका अन्य तीन स्थानमा पनि तीन अर्ब १८ करोड घनमिटर मिथेनको भण्डार रहेको कम्पनीको अनुमान छ । चारै ठाउँको अनुमानित कुल चार अर्ब ३० करोड घटमिटर उत्खनन गर्न सके नेपाललाई ५० वर्षका लागि ग्यास पुग्ने चिनियाँ विज्ञहरूको निष्कर्ष छ । आयल निगमका अनुसार नेपालमा वार्षिक करिब ६० अर्बको साढे पाँच लाख टन एलपी ग्यास आयात भइरहेको छ ।
प्रारम्भिक प्रतिवेदनमा मिथेन ग्यास देखिएको र सबै प्रक्रिया टुंग्याएर परीक्षण उत्पादन थाल्ने र त्यसबाट ग्यासको प्रकृति तथा व्यावसायिक उत्पादनबारे निर्णय लिइने पेट्राेलियम अन्वेषण प्रवर्द्धन परियोजनाका प्रमुख दिनेशकुमार नापितले जानकारी दिए । चिनियाँ कम्पनीले विस्तृत रिपोर्ट दिएको एक महिनाभित्रै परीक्षण उत्पादन थाल्ने योजना रहेको उनको भनाइ छ ।
चिनियाँ कम्पनीले जलजलेमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि चार हजार १३ मिटरको गहिराइमा खनेर संकलित नमुनाको परीक्षण गरेको थियो । २८ वैशाख ०८१ देखि थालिएको ड्रिलिङ नौ महिनापछि गत पुसमा सकिएको थियो । त्यसपछि संकलित नमुना परीक्षण गर्दा मिथेन ग्यास रहेको पुष्टि भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखमा भेटिएको ग्यासभण्डारले देशको आर्थिक अवस्था सुधारमा टेवा पुग्ने आशा पलाएको बताए । ‘ड्रिलिङका वेला संकलन गरिएका नमुनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो, अहिले प्रारम्भिक प्रतिवेदन सरकारलाई प्राप्त भइसकेको छ । त्यहाँ मिथेन ग्यासभण्डार रहेको भन्ने प्रतिवेदनले देशको भविष्य सुन्दर हुने आशा पलाएको छ,’ उनले भने । चीनले अन्तिम प्रतिवेदन आगामी पुससम्म तयार गरिसक्ने जानकारी दिएको र अन्तिम प्रतिवेदन प्राप्त भएपछि ग्यास उत्खनन थाल्ने मन्त्री भण्डारीले बताए ।
पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजना प्रमुख नापितले पनि ड्रिलिङ कार्य सफल भएको बताए । उनका अनुसार संसारमा पेट्रोलियम पदार्थ भेटिने आसमा गरिने ड्रिलिङ कार्यमा १० प्रतिशत मात्र सफलता हासिल हुने गरेको छ । दैलेखमा भने सुरुवातबाटै ग्यासको भण्डार भेटिने उच्च सम्भावना देखिएको थियो । ‘प्रारम्भिक प्रतिवेदनमा मिथेन ग्यास देखिएको छ । सबै प्रक्रिया टुंग्याएर परीक्षण उत्पादन थाल्ने र त्यसबाट ग्यासको प्रकृति तथा व्यावसायिक उत्पादनबारे निर्णय लिइनेछ,’ उनले भने, ‘चिनियाँ कम्पनीले विस्तृत रिपोर्ट दिएको एक महिनाभित्रै परीक्षण उत्पादन थाल्ने योजना छ ।’
दैलेखमा ग्यासभण्डार रहेको पुष्टि भएपछि मुलुककै समृद्धिको आधारस्तम्भ भेटिएको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले बताए । ‘ग्यास भण्डारणको उपयोग गर्न सके देशको मुहार फेरिने देखिन्छ,’ उनले भने ।
दैलेखको पेट्रोलियम अन्वेषण गर्नेबारे चीनसँग सन् २०१६ मा प्रारम्भिक समझदारी भएको थियो । त्यसपछि सन् २०१९ मा काठमाडौंमा चिनियाँ प्रतिनिधि आएर आफ्नै खर्चमा अन्वेषण कार्य थाल्नेबारे खानी तथा भूगर्भ विभागसँग सम्झौता भएको थियो । सम्झौता भएको लामो समयपछि गत वर्ष २८ वैशाखबाट औपचारिक रूपमा चिनियाँ प्राविधिक टोलीले अन्वेषण थालेको थियो ।
अन्वेषण कार्यका लागि आवश्यक उपकरण तथा जनशक्ति चीनबाटै ल्याइएको थियो । उक्त कार्यका लागि चीनले दुई अर्ब रुपैयाँ खर्चेको खानी विभागले जनाएको छ । विभागले भने ४५ रोपनी जग्गा अधिग्रहणका लागि करिब एक करोड रुपैयाँ मात्रै खर्च गरेको नेपालको तर्फबाट परियोजना प्रमुख तोकिएको विभागका उपमहानिर्देशक दिनेशकुमार नापितले जानकारी दिए । विभागले पेट्रोलियमको खानी रहेको सम्भावना देखिएका पाल्पा, दाङ र सुनसरीमा समेत अन्वेषण कार्य अघि बढाउने योजना बनाएको छ ।