
असार ०२,
सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीब विक्रम शाहले मध्यरातमा सुरु भएको प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।
यो बजेट चालु आवको तुलनामा ५ प्रतिशतले बढेको हो । पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र
चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार विनियोजन गरिएको छ । दलहरूबीच बजेटमा सहमति जुट्न नसक्दा मध्यराति १२ बज्नभन्दा केही मिनेट अघिमात्रै कर्णालीमा बजेट सार्वजनिक गरिएको हो । असार १ गते नै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थालाई टेकेर कर्णालीले बजेट ल्याएको हो ।
दिनभर दलहरूबीच सहमति जुट्न नसक्दा कर्णालीमा बजेट सार्वजनिक हुन सकेको थिएन । प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले बजेट बहिष्कार गर्ने चेतावनी दिएपछि दिनभर बजेट आउने वा नआउने भन्ने अन्यौल थियो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ ७ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ र पुँजीगत तर्फ पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै, वित्तीय व्यवस्था अन्तर्गत ६१ करोड ५० लाख रुपैयाँ र स्थानीय तहमा वित्तीय हस्तान्तरणबापत ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार छुट्याइएको छ ।
बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोत तर्फ कर राजस्वबाट ९६ करोड ७४ लाख ११ हजार रुपैयाँ, राजश्व बाँडफाँट १० अर्ब २७ करोड ३० लाख रुपैयाँ, समानीकरण अनुदानतर्फ १० अर्ब ५६ करोड ४ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब ४४ करोड ६० लाख, समपूरक अनुदानतर्फ ५३ करोड ९७ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ४९ करोड ४६ लाख रुपैयाँको स्रोत अनुमान गरिएको छ ।
या वर्ष आन्तरिक राजश्वबापत ५ अर्ब ६९ करोड ६८ लाख ४४ हजार तथा वैदेशिक सहायता १ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने प्रदेशको अनुमान छ ।