
जेठ २३,
सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार चालू आर्थिक वर्षको बजेटभन्दा बढाएर ल्याउने जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले आगामी आवको बजेटको तयारी अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार विगतका वर्षहरु भन्दा यसपटक बजेट फरक ढंगले ल्याउने गरी प्रदेश सरकारले तयारी गरेको छ । प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने नीतिअनुसार कर्णाली सरकारले पनि बजेट निर्माणको कामलाई अन्तिम अवस्थामा पुर्याएको छ ।
पहिलोपटक प्रदेश सरकार गठन भएदेखि नै भनिएको ‘परियोजना वैंक’ यसपटक लागू गरेर योजना निर्माण गरि बजेट तयार गरिएको हुँदा बजेट भिन्न तरिकाले आउने दाबी अर्थमन्त्री शाहले गरेका छन् । अहिले आर्थिक मन्त्रालयले योजना इन्ट्री गर्ने, आयोजना बैङ्कमा रहेका योजनाहरूमा बजेट विनियोजन गर्ने तथा केन्द्रले प्रदेशलाई दिने अनुदानका विषयमा छलफल गर्ने काम गरिरहेको मन्त्रालयका प्रवक्ता एवम् उपसचिव महेन्द्रजंग शाहीले जानकारी दिए । उनका अनुसार वितरण गरेको सिलिङबमोजिम मन्त्रालयहरूबाट पनि सबै विवरण मन्त्रालयमा पुगिसकेको छ ।
‘बजेट करिब ३४ अर्बसम्म पुग्ने अनुमान हामीले गरेका छौँ,’ मन्त्री शाहले भने, ‘मन्त्रालयमा पनि ०.५—३ प्रतिशतका दरले सिलिङ वितरण गरिएको थियो, नीति तथा कार्यक्रममा हामीले कृषि, पुर्वाधार, रोजगारीलगायतका विषयलाई जसरी प्राथमिकतामा राखेका छौँ, सोहीअनुसार बजेट आउँछ ।’
प्रदेश सरकारले परियोजना वैंक लागू गर्नका लागि ‘योजना छनोट कार्यविधि’ बनाएर कार्यान्वयनमा ल्याएको छ । जसले गर्दा टुक्रे योजनाहरुमा बजेट छुट्टिने प्रवृत्तिको अन्त्य हुने विश्वास लिइएको छ ।