
जेठ १३,
सुर्खेतः कर्णाली प्रदेशको चालु आर्थिक वर्ष २०८१/०८२ को अर्थतन्त्रको आकार अर्थात कुल गार्हस्थ्य उत्पादन दुई खर्ब ५५ अर्ब ५९ करोड हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय काठमाडौँले सोमवार सुर्खेतमा कर्णाली प्रदेशको प्रादेशिक लेखा अनुमान सार्वजनिक गर्दै कर्णाली प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्य अनुसार ४.७४ प्रतिशत हुने अनुमान गरेको हो । कार्यालयले आर्थिक वृद्धिदर ४.७४ प्रतिशत हुने अनुमान गरेको छ ।
कर्णालीको अर्थतन्त्रको आकार देशको सवैभन्दा कम आकार हो । राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन ६१ खर्ब सात अर्ब पुग्ने प्रारम्भिक अनुमान छ । प्रादेशिक लेखा अनुमान सार्वजनिक गर्दै तथ्यांक समन्वय कार्यालय सुर्खेतका प्रमुख बिनोद आचार्यले राष्ट्रिय आर्थिक बृद्धि दर भन्दा कर्णालीको वृद्धिदर केही माथि भएको जानकारी दिनुभयो । राष्ट्रिय आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेकोमा कर्णालीको ४.७४ प्रतिशत रहेको छ । कर्णालीको आर्थिक वृद्धिदर र अर्थतन्त्रको आकार क्रमशः बढ्दै गएकोले सन्तोषजनक भएको उहाँले जनाउनुभयो । सात वटा प्रदेशमध्ये कर्णालीको अर्थतन्त्रको आकार सवैभन्दा कम भएको उनको भनाइ छ ।
कर्णालीको विगत तीन वर्षको अवधिमा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर बढ्दै गएको छ । आव २०७९/०८० मा दुई खर्ब ३० अर्ब, आव २०८०/०८१ मा दुई खर्ब ५० अर्ब र चालु आव २०८१/०८२ मा दुई खर्ब ५५ अर्ब रहेकोे जानकारी उहाँले दिनुभयो । यस्तै देशको कूल गार्हस्थ्य उत्पादनमा कर्णालीको योगदान ४.२ प्रतिशत रहेको छ ।
कूल गार्हस्थ्य उत्पादनमा कर्णालीमा सेवा क्षेत्रको सवैभन्दा बढी योगदान रहेको छ । सेवा क्षेत्रको ५८.९ प्रतिशत, प्राथमिक क्षेत्रको ३१.७ प्रतिशत र द्वितीय क्षेत्रको ९.४ प्रतिशत योगदान कर्णालीमा छ । यसैगरी कूल गार्हस्थ्य उत्पादनको प्रतिव्यक्ति आयमा कर्णालीको एक हजार ८९ डलर रहेको जानकारी तथ्यांक समन्वय कार्यालय सुर्खेतका प्रमुख आचार्यले दिनुभयो । प्रति व्यक्ति आय पनि तीन वर्षको तुलनामा बढेको छ । गत वर्ष एक हजार ७६ डलर थियो भने त्यसअघि एक हजार ३० डलर थियो ।