
जेठ १२,
सुर्खेतः कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–कालिकोट खण्डको ४३ किलोमिटर सडक कालोपत्रे गरिँदैछ । सडक डिभिजन जुम्लाले नयाँ डबललेन निर्माण गरेको र पुरानै कालोपत्रे भएको सडकमा फेरी कालोपत्रे गर्ने गरी करिब ४३ किलोमिटर सडक चालु आर्थिक वर्षमा स्तरोन्नति गर्न लागेको हो । जसमा कालिकोट खण्डमा १७ किलोमिटर र जुम्ला खण्डमा २६ किलोमिटर सडक रहेको कार्यालयले जनाएको छ ।
सडक डिभिजन जुम्लाका सूचना अधिकारी दिपेन्द्र चौधरीका अनुसार खुलालुदेखी घोडेना सम्म दुई प्याकेजमा कालोपत्रे सुरु भएको छ । डिएलएलसी केवी जेभी कालिकोटले पहिलो प्याकेज चार करोड १८ लाख ६५ हजारमा र दोस्रो प्याकेज ६ किमी कालोपत्रे गर्न भैरव मष्ट निर्माण सेवाले १ करोड २८ लाख १८ हजारमा काम गरिरहेको छ ।
कालिकोट खण्डकै घोडेनादेखी नाग्मसम्म तीन प्याकेजमा काम भईरहेको छ । जसमा १६ कि.मी कालोपत्रेको ठेक्का खड्का निर्माण सेवाले पाएको छ । उक्त कम्पन्नीले ४ करोड ४० लाखमा कालोपत्रे गर्ने छ । दोस्रो प्याकेजमा ४ करोड २१ लाख ७२ हजार लागतमा किमी कालोपत्रे हुने छ । त्यसैगरी भैरब मष्ट निर्माण सेवाले १ करोड १२ लाख ४० हजार लागतमा तेस्रो प्याकेजको कालोपत्रे काम गर्ने छ । कालिकोट खण्डमा खुलालुदेखी नाग्म सम्मका पाँच वटा ठेक्का मार्फत १७.७ किमी कालोपत्रे गरिने सडक डिभिजन जुम्लाले जानकारी दिएको छ । यस्तै, नाग्मदेखी जुम्ला सम्मको ३२ कि.मी मध्य २६ किलोमिटर कालोपत्रे गरिने छ । केही स्थानमा डलब लेन निर्माणमा भएको ठाउँमा कालोपत्रे गरिने कार्यालयले जनाएको छ । जुम्ला खण्डको २६ किमी कालोपत्रे गर्न उज्वल सानदार जेभी निर्माण कम्पन्नीसंग १० करोड ३७ लाख ८८ हजार लागतमा सम्झौता भएको छ ।
कर्णाली राजमार्गमा सवारी चलाउने चालक तथा स्थानीय भने पहिले नै कालोपत्रे भएको सडकमा फेरी कालोपत्रे गर्नुभन्दा राजमार्गका जोखिमपुर्ण सडक मर्मत गर्नुपर्ने बताउँछन् । स्थानीय आवश्यकतामुखी विकास गर्न थालिएको भन्दै आक्रोशित बनेका छन् ।