
जेठ ०४,
जुम्लाः जुम्लाको गुठिचौर गाउँपालिका–२ को झुलेनीमा चट्याङ लागेर २१ वटा भेडाबाख्रा मरेका छन् । शनिबार बेलुकी पाँच बजे रुखमुनि बसिरहेको समयमा चट्याङ पर्दा ती भेडाबाख्रा मरेका हुन् ।
गुठिगाउँका किसान हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका पाँचवटा भेडाबाख्रा चट्याङमा परेर मरेको गुठिचौर–२ का पूर्ववडाध्यक्ष तथा स्थानीय धनबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार
घरमा ल्याउन रुखमुनि जम्मा गरी राखिएको अवस्थामा चट्याङ परेको थियो । हिरबहादुरका ५० वटा र धनकृष्णका ३० वटा भेडाबाख्रा छन् । उनीहरूको जिविकोपार्जन नै भेडाबाख्राबाट हुने गरेको छ । जुम्ला जिल्लाभर नै चट्याङबाट पटक पटक भेडाबाख्रा मर्ने गरेका छन् ।
चट्याङमा भेडाबाख्रा मरेपछि किसानहरू चिन्तित बनेका छन् । गुठिगाउँमा रहेका १ सय ७५ घरधुरीमध्ये एकसय भन्दा बढी परिवारले भेडाबाख्रा पाल्ने गरेका छन् । किसानका अनुसार एउटा भेडाबाख्राको मूल्य कम्तीमा १० हजारदेखि अधिकतम २५ हजार रुपैयाँसम्म पर्दछ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ गुठिचौरको पूर्वी क्षेत्र हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति हुने गरेको कार्यालयले जनाएको छ ।
गुठिचौर–२ का वडाध्यक्ष दीपबहादुर ऐडीले स्थानीय सरकारबाट सहयोग हुने भन्दै वडामा रकम नभएकाले गाउँपालिकाको विपद् शाखामा कुरा राख्ने बताए ।