
बैशाख ३१,
त्रिपुराकोट : त्रिपुरा सुन्दरी नगरपालिकामा राष्ट्रिय परिचयपत्र नम्बर दिन सुरु गरिएको छ । ८७ बर्षकी बृद्धालाई अनलाईन विवरण भरेपश्चात राष्ट्रिय परिचयपत्र नम्वर प्रदान गर्दै बुधवार देखी नगरपालिकामा राष्ट्रिय परिचयपत्र नम्बर दिने कार्यको थालनी गरिएको हो । नगर प्रमुख जनचन्द्र रोकायाले राष्ट्रिय परिचयपत्र नम्बर हातमा थमाउदै नगरपालिकावाटै राष्ट्रिय परिचयपत्र अनलाईन विवरण भरेर नम्बर प्रदान गरेका हुन ।
राष्ट्रिय परिचय पत्र नम्बर अनलाइनवाट वितरण गर्नका लागि आवाश्यक पर्ने ईन्ट्रानेटको लागि चाहिने उपकरणहरु र प्राबिधिक रुपमा लाग्ने आर्थकि खर्च भने त्रिपुरासुन्दरी नगरपालिकाले नै व्यवस्थापन गरेको त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले जानकारी दिए । नगरप्रमुख रोकायाले भने हामीले जनताको सेवाको लागि काम गरेका छौ खर्चको कुनै डर छैन नागरिकले सेवा पाए पुग्छ । निरन्तरको जिल्ला प्रशासनसँगको सहकार्यमा नगरपालिकाले नागरिकलाइ परिचयपत्र नम्बर प्रदान गर्नका लागि सफल भएको तर अन्य भौतिक तथा आर्थकि सहयोग पालिकाले गरेको भएपनि नागरिकले भरेको व्यक्तिगत सूचनाहरुको सुरक्षाका लागि चाहिने उपकरण अर्थात नेटवर्किङ्ग डिभाइस भने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले उपलब्ध गराइ दिएको नगरप्रमुख रोकायाले बताए ।

डोल्पाको सवैभन्दा धेरै करिव १२ हजार जनसंख्या रहेको स्थानीय तह त्रिपुरासुन्दरी नगरपालिका हो । ११ वडा रहेको यस नगरपालिकामा राष्ट्रिय परिचयपत्रको अनलाईन विवरण भरी नम्बर प्राप्त गर्न नागरिकलाइ असार २५ गते सम्मको समय सिमा तोकेर सूचना प्रकाशन गरिएको छ । हरेक वडालाइ ५ दिनका दरले राष्ट्रिय परिचयपत्रको विवरण अनलाईन मार्फत भरी नम्बर प्राप्त गर्ने समय तोकिएको त्रिपुरासुन्दरी नगरपालिका उपप्रमुख देबी घर्तिले जानकारी दिइन । उपप्रमुख घर्तिले भनिन एक वडामा ५ दिन समय तोकिएको भएपनि पालिकाभरका नागरिकले यो सेवा पूर्ण रुपमा नपाए सम्म नियमित प्रादन हुनेमा नागरिकलाइ बिश्वस्त रहन आग्रह गरिन ।
जिल्ला प्रशासन कार्यालय डोल्पाको बिशेष अनुरोधमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले नागरिकको सहजताका लागी पालिकावाटै यो सेवा दिने व्यवस्था मिलाएको डोल्पाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । प्रजिअ महतका अनुसार नेपाल सरकारले श्रावण गत श्रावण देखी सामाजिक सुरक्षा भत्ता खान,बैङ्क खाता खोल्न,उपभोक्ता समिति बन्न र अन्य बिभिन्न सेवा लिन अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र लागु गरेपछि डोल्पामा जिल्ला प्रशासन कार्यालयको बिशेष पहल र स्थानीय पालिकाहरुको आर्थिक सहयोगमा यो सेवा पालिकावाटै नागरिकलाइ दिन थालिएको बताए ।

पालिकाबाट अनलाइ मै राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गरिने र पछि परिचयपत्र छापिएर आएपछि कार्ड प्रदान गरिने प्रजिअ महतले जानकारी दिए । हाल सम्म जगदुल्ला,मुड्केचुला गाउँपालिकाले राष्ट्रिय परिचयपत्र नम्बर दिने कार्य सम्पन्न गरि सकेको र बुधवार देखी त्रिपुरा सुन्दरी नगरपालिकामा शुभारम्म भएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए । प्रजिअ महतले भने बिभागवाट डिभाईस बाहेक अरु कुनै पनि प्राबिधिक जनशक्ति नदिएकाले नागरिकका सहजताका लागि जिल्ला प्रशासनमा भएका प्राविधिक र पालिकाका एमआईएस अपरेटरको सहायतामा राष्ट्रिय परिचयपत्र को विवरणको काम गरि रहेको जानकारी दिए । महतले भने अब तल्लो डोल्पा अन्तरगतका पालिकाहरुमा काईके मात्रै बाँकी रहेको र अव छिट्टै काईकेमा काम हुने तर माथिल्लो डोल्पामा भने निकै कठिन रहेको समेत दुखेसो सुनाए ।

सरकारले गएको श्रावण देखी हरेक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गराएपछि स्थानीय तह निकै जागरुक देखीएका छन । जिल्ला प्रशासन कार्यलय मै पुगेर राष्ट्रिय परिचयपत्र लिनु पर्ने बाध्यता हटेपनि पालिकावाट प्रदान गरिने अनलाईन विवरण भरेर राष्ट्रिय परिचयपत्र नम्वर प्राप्त गर्न भने सवै नागरिकलाइ सहज छैन । यस्को मारमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक पर्नेछन । भौगोलिक रुपमा कठिन रहेको डोल्पामा पालिकाहरुमा यो सेवा अझै वडा स्तर सम्म पुर्याएको भए धेरै सहज हुने नगरप्रमखु जनचन्द्र रोकायले बताए । रोकायले भने राष्ट्रिय परिचयपत्रको कार्यक्रम शुभारम्भ भयो अव जिल्ला प्रशासन र निर्वाचनसँगको सहकार्यमा नागरिक्ता र मतदाता नामावली परिचयपत्र प्रदान गर्न एकिकृत घुम्ती शिविर सञ्चालनको तयारीमा रहेको छ छिट्टै यो सेवा पनि नागरिकले पाउनेछन ।