कर्णाली राजमार्गको सिस्ने–साइगाउँ खण्ड आईतबारदेखि दैनिक दुई पटक बन्द

फाईल तस्विर
जैतुन अनलाइन | २०८२ बैशाख २९ गते सोमवार

वैशाख २९,

सुर्खेतः कर्णाली राजमार्गको सिस्ने–साइगाउँ खण्ड आइतबारदेखि दैनिक दुई पटक बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना प्रकाशित गरी राजमार्ग बन्द हुनेबारे जानकारी गराएको हो । यो राजमार्ग बिहान ८ देखि मध्याह्न १२ बजेसम्म र अपराह्न २ देखि साँझ ६ बजेसम्म बन्द गरिएको हो ।

सडक डिभिजन सुर्खेतबाट ठेक्का सम्झौता भएको यो खण्ड निर्माण क्रममा आवातजावत रोक्नुपरेको कार्यालयले जनाएको छ । यस खण्डको विकल्पमा रामघाटदेखि साइगाउँसम्म मध्यपहाडी राजमार्ग प्रयोग गर्न समेत कार्यालयले सूचनामार्फत आग्रह गरेको छ । कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिनुपर्नेछ । रामाघाट बजारबाट दुई किलोमिटर उत्तरमा रहेको मध्यपहाडी लोकमार्गको सात्तला भएर साई निस्कनु पर्नेछ ।

रामाघाट–साई खण्डको दुरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साई निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दुरी पछ्याउनु पर्नेछ । सिस्ने साई खण्डको १२ किलोमिटर दुरीको सडक विग्रिएपछि नयाँ ठेक्का व्यवस्थापन गरिएको हो । यसअघि कालोपत्रे गरिएको सडक भत्किएको, खाल्डाखुल्डीले सिस्ने, टुनिवगर र साई  क्षेत्रमा निकै सास्ती भएपछि कार्यालय खड्का के एस के शिशिर बसन्त जेभीसँग २०८१ चैतमा सम्झौता गरेर काम थालेको जनाईएको छ ।