
बैशाख २१,
डाेल्पा : डाेल्पाकाे ठुलीभेरी नगरपालिका वडा नं. ११ रह गाउँमा भाइरल रुघाखोकी फैलिएको पाइएको छ। केही दिन यता रह गाउँकाे प्रत्येक घरमा बिरामी भएकाे स्थानीय बासिन्दाले बताएका छन। बालबालिका देखि बृद्वा सम्मका स्थानीयलाई ज्वरो आउने, खाेकी लाग्ने, टाउको हातगोडा दुख्ने लगाएको समस्या देखिएको छ। गाउँमा भाइरल फैलिएको छ।
उपचार गर्न रातिराति पनि जानुपर्छ। स्वास्थ चाैकीमा औषधी छैन। मागफारम भरेर आवश्यकता अनुसार औषधी माग गर्दा थाेरै पठाउने यता सेवाग्राही धेरै हुने भएकाे हुदा औषधी अभाव भएकाे रह स्वास्थ्य चाैकीका अहेब बुद्विप्रसाद आचार्यले बताए । रह स्वास्थ्य चाैकीबाट स्थानीय बासिन्दा लगाएत कामकाे सिलसिलामा विभिन्न ठाउँबाट यहाँ पुगेका सेवाग्राहीलाई उपचार गर्दा थाेरै मात्रामा आएकाे औषधी सकिने गरेकाे अहेब आचार्यले बताए । आधारभुत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्दति (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) अनुसार आधारभुत अस्पताल/प्राथमिक स्वास्थ्य केन्द्र, आधारभुत स्वास्थ्य केन्द्र/स्वास्थ्य चौकीबाट विभिन्न ९८ प्रकारका औषधीहरु निशुल्क पाइने भन्ने छ।
आधारभुत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा ९८ थरीका औषधी मध्ये केही औषधी भने पाइने छैन। तर आधारभुत अस्पताल/ प्राथमिक स्वास्थ्य केन्द्रमा भने सरकारले तोकेका सबै ९८ थरीका औषधी निःशुल्क पाइने व्यवस्था रहेकाे छ। रह स्वास्थ्य चाैकी मात्रै हाेइन डाेल्पा अधिकांश स्वस्थ्य संस्थाहरुमा सामान्य सिटामाेल समेत नपाउने अवस्था छ। संघीयता लागू भएपछि औषधी खरिदकाे लागि अधिकार स्थानीय सरकारलाइ दिएकाे छ ।
रह बर्थिङ सेन्टर प्रयाेग विहीन: ठुलीभेरी नगरपालिका वडा नं. ११ रहमा बर्थिङ सेन्टर प्रयाेग विहीन रहेकाे छ। स्थानीयका अनुसार २०७८ सालमा निर्माण भएकाे बर्थिङ सेन्टर विभिन्न कारणले प्रयाेगमा ल्याउन नसकेको रह स्वास्थ्य चाैकीका अहेब बुद्विप्रसाद आचार्यले बताए । बर्थिङ सेन्टरमा आवश्यक सामाग्री पनि आएकाे, आवश्यक स्वास्थ्यकर्मी पनि रहेकाे तर बर्थिङ सेन्टरकाे लागि स्वास्थ्यकर्मीले आवश्यक तालिम नपाउदा र उपकरण जडानमा सहयाेग नहुदा बर्थिङ सेन्टर संचालनमा नआएकाे उनले बताए।
बर्थिङ सेन्टर संचालनकाे लागि अनुगमन सहित सहजीकरण गरिदिन जिल्ला स्वास्थ्य सेवा कार्यालय दुनै र नगरपालिकामा आग्रह गरेकाे उनले बताए। रह स्वास्थ्य चाैकी सहित बर्थिङ सेन्टर संचालनकाे लागि हाल ३ जना कार्यालय सहयाेगी र ४ जना अन्य स्वास्थ्यकर्मी रहेका छन। रह गाउँमा १ सय ७० भन्दा बढी घरधुरी रहेका छन। रह गाउँमा बर्थिङ सेन्टर सेवा संचालनकाे लागि सम्बन्धित निकायमा पहल भैरहेको ठुलीभेरी नगरपालिका वडा नं. ११ रहका काबा वडा अध्यक्ष कर्णप्रसाद कार्कीले बताए। उनले भने स्वास्थ्य चाैकीमा पनि औषधी छैन भन्ने छ।
गाउँमा रुघाखोकीकाे महामारी फैलिएको छ। हामी स्वास्थ्य सेवा कार्यालय र नगरपालिकामा पहल गर्छाै। रह गाउँ स्थित बर्थिङ सेन्टर सञ्चालनमा आए गर्भ जाँचसम्बन्धी सामान्य स्वास्थ्य सुविधाबाट वञ्चित स्थानीय महिलाले सेवा पाउने छन् । हाल रह गाउँका महिलाहरु सामान्य गर्भ चाँच गर्न, सुत्केरी हुन ४/५ घण्टाकाे भिरालो बाटाे हिडेर जिल्ला अस्पताल दुनै पुग्ने गर्दछन। भने केही घरमै सुत्केरी हुने गरेकाे पाइएको छ। यस्तै एक कार्यक्रमकाे सिलसिला रह गाउँ पुगेका जिल्ला समन्वय समिति डाेल्पाका प्रमुख श्याम बहादुर राेकायाले रह स्वास्थ्य चाैकी, बर्थिङ सेन्टर र वडा कार्यालयकाे अनुगमन गरेका छन ।
बर्थिङ सेन्टर तत्काल संचालन गर्न, स्वास्थ चाैकीमा औषधी नभए सम्बन्धित ठाउँमा माग गर्न र वडा कार्यालयकाे आफ्नै भवनबाट कार्यालयकाे क्रियाकलाप संचालन गर्न सम्बन्धित तहमा समन्वय गर्न कर्मचारीलाई निर्देशन दिदै आफूले पनि सहजीकरण गरिदिने जिसस प्रमुख राेकायाले बताएका छन।