
बैशाख ०१,
काठमाडौं : पूर्वजराजा ज्ञानेन्द्र शाहमा अहिले पनि राजतन्त्र फर्काउने चाहना जीवितै रहेको एमाले आरोप लगाएको छ। सोमबार पार्टीको सचिवालय बैठकले पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष निकालेको हो।
पूर्वराजा ज्ञानेन्द्रले आइतबार अभिव्यक्ति सार्वजनिक गर्दै चैत १५ गतेको घटनालाई जनतामा आएको जागरण रूपमा व्याख्या गरेका थिए। पूर्वराजा ज्ञानेन्द्रको उक्त टिप्पणीलाई गम्भीरताका साथ लिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
‘अझै उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ। अहिलेको उपलब्धिलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यससम्बन्धी सक्रियता जीवितै रहेको पायौं। त्यो एकदमै गलत कुरा हो। चैत १५ गते आपराधिक घटना भयो। त्यसलाई उहाँले जनतामा आएको जागरणको रूपमा भन्नुभयो, जुन एकदमै आपत्तिजनक छ,’ उनले भने।
चैत १५ गते तीनकुने क्षेत्रमा आपराधिक घटना भएका एमालेको निष्कर्ष छ। ‘त्यस दिन आपराधिक घटना भएको छ। जिउँदै मान्छेलाई जलाइएको छ। घरमा आगजनी गरिएको छ। निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याइएको छ। मिडियामाथि निशाना साँधेको छ। यी सबै अराजक र आपराधिक क्रियाकलाप हुन्,’ उनले भने।