
चैत्र १२,
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वैधानिक प्रतिपक्षीको भूमिका रचनात्मक नभएको बताएका छन्। मंगलबार ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वैधानिक प्रतिपक्षीको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताएका हुन् । प्रतिपक्षीको भूमिका सरकारलाई बदनाम गर्ने र झुटलाई फैलाउनमा केन्द्रीत र सक्रिय रहेको उनले बताए।
देशी–विदेशी तत्व सरकारलाई बदनाम गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेको उनले बताए । उनले देशको विकासका लागि लिएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यान केन्द्रीत भएको उल्लेख गरे । ४६ सालको परिवर्तन पछि तीव्र विकासको बाटो अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले आफू सरकारमा रहँदा उल्लेखीय रुपमा विकासका काम भएको दावी गरे। त्यस्तै प्रधानमन्त्री ओलीले देशको विकासमा इन्जिनियर्सको भूमिका महत्वपूर्ण रहेको बताए।