
मंसिर ०१,
डोल्पा :भेरी करिडोरअन्तर्गत जाजरकोट, रुकुम र डोल्पाका विभिन्न स्थानमा सञ्चालित विकास आयोजनाहरू समयमै सम्पन्न गर्न डोल्पाका प्रमुख राजनीतिक दलहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
मंगलबार डोल्पाको सदरमुकाम दुनैस्थित नेपाली कांग्रेस डोल्पाको पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकले भेरी करिडोरअन्तर्गत सञ्चालित विभिन्न विकास निर्माणका कामलाई तीव्रता दिई समयमै सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
बैठकमा नेपाली कांग्रेस डोल्पाका पार्टी सचिव हिक्मत बहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी डोल्पाका प्रतिनिधि ओमेन्द्र केसी, नेकपा एमाले डोल्पाका उपाध्यक्ष नरबहादुर बुढा, नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेश सदस्य धर्मलाल बुढा तथा ठुलीभेरी नगरपालिका–३ का वडा अध्यक्ष भक्तबहादुर भण्डारीलगायतको सहभागिता थियो।
बैठकले नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामा परेको भेरी करिडोरअन्तर्गत जाजरकोट, रुकुम र डोल्पामा सञ्चालित विभिन्न आयोजनाको काम यथाशीघ्र सुचारु गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

सर्वदलीय बैठकले तल्लुदेखि त्रिवेणीसम्मको मोटरबाटो स्तरोन्नति, त्रिवेणीदेखि त्रिपुराकोटसम्मको मोटरबाटो स्तरोन्नति, खदाङको पक्की मोटरेबल पुल, छलगाडको पक्की पुल तथा जाजरकोटदेखि डोल्पा सिमानाको खोलामा निर्माण हुने पक्की पुलहरूको काम तत्काल अघि बढाउन माग गरेको छ।
त्यस्तै, टेन्डर प्रक्रिया सम्पन्न भई निर्माण कम्पनीले काम सुरु नगरेका आयोजनाहरूको निर्माण कार्य तत्काल सुचारु गर्न, दुनैदेखि धो–मरिमसम्मको मोटरबाटो निर्माण तथा त्रिपुराकोटदेखि दुनैसम्मको मोटरबाटो स्तरोन्नतिका लागि आवश्यक बजेट तत्काल व्यवस्था गर्न पनि बैठकले माग गरेको छ।
बैठकले माथि उल्लेखित योजनाहरू सम्बन्धित निकायमार्फत तत्काल कार्यान्वयनका लागि पहल गर्नुपर्नेमा जोड दिएको छ। साथै, डोल्पाका सम्पूर्ण राजनीतिक दलहरूको पुनः सर्वदलीय बैठक बसी सम्बन्धित निकायमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको नेपाली कांग्रेस डोल्पाका सचिव हिक्मत बहादुर शाहीले जानकारी दिएका छन्।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भेरी करिडोरका अधिकांश काम डोल्पामा भए पनि सम्बन्धित कार्यालय भने जाजरकोटमा रहेकोप्रति डोल्पाली नागरिकले लामो समयदेखि आपत्ति जनाउँदै आएका छन्। कार्यालय एक ठाउँमा र काम अर्को ठाउँमा हुँदा आयोजनाको प्रभावकारी अनुगमन तथा कार्यान्वयनमा समस्या भएको भन्दै डोल्पाली नागरिकले सम्बन्धित कार्यालयलाई डोल्पामै स्थापना गर्नुपर्ने मागसमेत गर्दै आएका छन्।
बैठकमा सहभागी राजनीतिक दलहरूले भेरी करिडोरसँग सम्बन्धित आयोजना निर्माणमा देखिएका ढिलासुस्ती अन्त्य गरी आवश्यक बजेट, जनशक्ति र प्रशासनिक व्यवस्थापनसहित निर्माण कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन्। सरकारले कर्णाली करिडोरका लागी भने स्तरोन्तीका लागि ठेक्का प्रकृया अघि बढाई सकेको छ तर भेरी करिडोरका लागी भने कुनै प्रकृया नबढाएको गुनासो डोल्पाका नागरिकको छ ।