

कात्तिक २३,
डोल्पा: डोल्पाको जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीमध्ये थप दुई जना पक्राउ परेका छन् । आइतबार साँझ त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँमाथिको जंगलबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन् । आइतबार साँझ करिब ५ः१७ बजे लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् । उनीहरूसहित डोल्पा कारागारबाट फरार भएका आठ जनामध्ये पक्राउ पर्नेको संख्या छ पुगेको छ ।
यसअघि पनि त्रिपुरासुन्दरी नगरपालिका–४ रंगगाउँबाटै त्रिपुरासुन्दरी नगरपालिका–७ का कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार पक्राउ परेका थिए ।