चरेस कारोबारको अनुसन्धानमा डोल्पाका थप तीन महिला पक्राउ

साझा कर्णाली | २०८३ कार्तिक २३ गते आइतवार

कात्तिक २२,

डोल्पाः लागूऔषध (चरेस) सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले थप तीन जना महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले कार्तिक २१ गते त्रिपुरासुन्दरी नगरपालिका–३ निवासी २० वर्षीया सुन बुढा बोहरा, ३० वर्षीया कमला बुढा र २५ वर्षीया सम्झना बुढालाई पक्राउ गरेको हो ।

यसअघि कार्तिक ४ गते ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागार दुनैमा कार्यरत कार्यालय सहयोगी कमलबहादुर शाही पक्राउ परेका थिए । जुफाल निवासी ३३ वर्षीय शाहीले कारागार परिसरभित्र लैजाँदै गरेको अवस्थामा प्रहरीले जाँच गर्दा चरेसजस्तो देखिने पदार्थ २ ग्राम ६१९ मिलिग्राम र घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चाजस्तो देखिने धुलो २ ग्राम ८८ मिलिग्राम बरामद गरेको थियो ।

उक्त घटनामा अनुसन्धान गर्ने क्रममा थप तीन जना महिलाको संलग्नता देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विनयकुमार सिंहले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।