डोल्पो क्याम्पसमा स्नातकोत्तर तह पढाइ हुने

साझा कर्णाली | २०८३ कार्तिक २३ गते आइतवार

कात्तिक २२,

डोल्पाः डोल्पाको सदरमुकाम दुनै बजारस्थित डोल्पो क्याम्पसले शिक्षा संकायअन्तर्गत स्नातकोत्तर तह एम‍.एड सञ्चालनका लागि अनुमति प्राप्त गरेको छ । यससँगै अब डोल्पामै स्नातकोत्तर तहको अध्ययन गर्ने स्थानीय विद्यार्थीहरुको लामो समयदेखिको चाहना पूरा हुने भएको छ ।

क्याम्पसले चालु शैक्षिक सत्रदेखि शिक्षा संकायअन्तर्गत स्नातकोत्तर तहमा नेपाली र शैक्षिक योजना तथा व्यवस्थापन विषयको पठनपाठन सञ्चालन गर्ने अनुमति पाएको हो ।

डोल्पो क्याम्पसका प्रमुख विष्णुलाल बुढाका अनुसार स्नातकोत्तर तह सञ्चालनका लागि आवश्यक अनुमति प्राप्त भएसँगै यसै शैक्षिक सत्रदेखि दुवै विषयको अध्यापन प्रक्रिया अघि बढाइनेछ ।

यस उपलब्धिका लागि सहयोग तथा सहकार्य गर्ने क्याम्पस व्यवस्थापन समिति, साधारण सदस्यलगायत सम्बन्धित सम्पूर्ण निकाय तथा व्यक्तिप्रति क्याम्पस प्रमुख बुढाले आभार व्यक्त गरेका छन् ।

वि.सं २०६१ सालदेखि शिक्षा संकायअन्तर्गत स्नातक तह (बी.एड) को पठनपाठन सञ्चालन गर्दै आएको डोल्पो क्याम्पसले करिब दुई दशकपछि स्नातकोत्तर तहसम्मको शैक्षिक कार्यक्रम विस्तार गर्न सफल भएको हो ।

स्नातकोत्तर तहको अध्यापन सुरु भएसँगै उच्च शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । यसले आर्थिक तथा भौगोलिक कठिनाइका कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

डोल्पा जिल्लाकै शैक्षिक विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको यस निर्णयले स्थानीय विद्यार्थी, शिक्षक तथा शिक्षाप्रेमीहरूमा उत्साह थपेको छ । साथै, जिल्लामा उच्च शिक्षाको पहुँच विस्तार गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।