पाँचौँ मेयर कपको उपाधि घरेलु टोली त्रिपुरासुन्दरी युथ क्लबलाई, मुड्केचुला उपविजेता

साझा कर्णाली | २०८३ कार्तिक १९ गते बुधवार

कात्तिक १८,

डोल्पा: त्रिपुरासुन्दरी नगरपालिकामा आयोजित पाँचौँ मेयर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक घरेलु टोली त्रिपुरासुन्दरी युथ क्लबले जितेको छ । फाइनल खेलमा मुड्केचुला गाउँपालिकाको टोलीलाई ३–२ सेटले पराजित गर्दै घरेलु टोलीले उपाधि आफ्नो पक्षमा पारेको हो ।

उपाधिका लागि भएको फाइनल प्रतिस्पर्धामा दुवै टोलीले उपाधि जित्न उत्कृष्ट प्रदर्शन गरेका थिए । सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको खेल पाँच सेटसम्म पुगेको थियो । अन्ततः निर्णायक सेटमा उत्कृष्ट प्रदर्शन गर्दै त्रिपुरासुन्दरी युथ क्लबले जित सुनिश्चित गर्‍यो । उपाधिका लागि अन्तिमसम्म प्रतिस्पर्धा गरेको मुड्केचुला टोली भने उपविजेतामा सीमित भयो ।

प्रतियोगितामा तेस्रो स्थान यार्सा स्पोर्ट्स क्लब माझफालले हासिल गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा यार्साले त्रिपुरासुन्दरी नगरपालिका–८ को टोलीलाई ३–२ सेटले पराजित गरेको थियो । यस्तै, वडा नम्बर ८ पहाडाको टोलीले चौथो स्थान प्राप्त गरेको छ ।

प्रतियोगिताको समापन समारोहमा जिल्लाको खेलकुद क्षेत्रको विकास र खेलाडीको संरक्षणका विषयमा समेत चर्चा भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सचिव हिक्मत शाही, नेकपा एमालेका जिल्ला अध्यक्ष लंकबहादुर रोकाया र नेकपाका सहइन्चार्ज बबिकिशोर गुरुङले जिल्लाको खेलकुद विकासप्रति राज्यका माथिल्ला तहको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरे ।

उनीहरुले जिल्लाबाट निर्वाचित प्रदेश तथा संघीय सांसदहरूले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि, खेलकुद क्षेत्रको प्रवर्द्धन र आवश्यक पूर्वाधार निर्माणमा अपेक्षित ध्यान दिन नसकेको बताए । स्थानीय स्तरमा प्रतिभावान् खेलाडी भए पनि उनीहरूको प्रतिभा पहिचान, संरक्षण र विकासका लागि पर्याप्त अवसर तथा पूर्वाधार आवश्यक रहेको उनीहरूको भनाइ थियो । जिल्लाको खेलकुद क्षेत्रलाई अघि बढाउन सम्बन्धित निकायले प्राथमिकताका साथ पहल गर्नुपर्नेमा उनीहरूले जोड दिए ।

समापन समारोहमा प्रमुख अतिथि बोहोरा, त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख रोकाया, उपप्रमुख देवी घर्तीलगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो । उनीहरूले प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीलाई पुरस्कार, प्रमाणपत्र तथा उपाधि प्रदान गरेका थिए । साथै उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

यसैबीच, प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन खेलसमेत सञ्चालन गरिएको थियो । ब्याडमिन्टनतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडी तथा टोलीलाई पनि नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

स्थानीय स्तरमा खेलाडीको प्रतिभा पहिचान तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको मेयर कपले भलिबलसँगै ब्याडमिन्टन खेलका खेलाडीलाई समेत प्रतिस्पर्धाको अवसर दिएको छ ।