डोल्पा कारागारबाट भागेकामध्ये दुई कैदी रुकुम पश्चिममा पक्राउ

साझा कर्णाली | २०८३ कार्तिक १८ गते मङ्गलवार

कात्तिक १७,

डोल्पा: डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ कैदीबन्दीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिमबाट पक्राउ गरेको छ । गत कात्तिक १४ गते बिहान ६ बजे ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीमध्ये दुई जनालाई मंगलबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार मंगलबार बिहान करिब साढे १० बजे उनीहरूलाई आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट पक्राउ गरिएको हो ।

आठबिसकोट नगरपालिका–९ राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा उनीहरू भाग्न खोजेका थिए । शङ्का लागेर नियन्त्रणमा लिई सोधपुछ गर्दा फरार कैदी भएको खुलेको राठौरले बताए । उनीहरूलाई प्रहरी चौकी गोतामकोटमा राखिएको छ ।

चौरजहारी बेस क्याम्प रुकुम पश्चिम तथा प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच सदस्यीय टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैबीच, डोल्पा कारागारमा सुरुङ खनेर कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरीको टोली डोल्पा पुगेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगञ्ज) का प्रहरी वरिष्ठ उपरीक्षक राजीवबहादुर बस्नेतको नेतृत्वमा पाँच सदस्यीय टोली घटनाको अनुसन्धानका लागि डोल्पा पुगेको हो ।

प्रहरी नायव उपरीक्षक अनिलराज गिरीका अनुसार टोलीमा प्रहरी प्रधान कार्यालयका तीन जना र कर्णाली प्रदेश प्रहरी कार्यालयका एक जना सदस्य छन् । टोलीको नेतृत्व एसएसपी बस्नेतले गरेका छन् ।

गत शुक्रबार राति कारागारमा रहेका पाँच जना जबर्जस्ती करणी र तीन जना चोरी मुद्दाका कैदीले करिब चार मिटर लामो सुरुङ खनेर फरार भएका थिए । फरार भएकामध्ये दुई जना पक्राउ परे पनि बाँकी छ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।